Mero Zindagi Mero Bishwas
रमेश पाण्डे
विद्यार्थीलाई खुसी पार्नु मेरो धर्म
Read 853 times
जिन्दगीका ३८ हिउँद-वर्षा मैले शिक्षण पेसामा बिताएँ । यो पेसामा कसैको चाकरी गर्नु पर्दैन, कसैसँग सम्झौता गर्नु पर्दैन, त्यसैले मैले यो पेसा रोजेँ । यो पेसाले मलाई सधैं स्वतन्त्र रहन दियो । एउटा शिक्षकका रूपमा मैले कहिल्यै पनि स्वविवेक र अन्तरआत्माको आवाजलाई बेवास्ता गर्न र सत्यको साथ छाड्नुपरेन ।
त्रि-चन्द्र कलेज, नेपाल कमर्स क्याम्पस, शंकरदेवदेखि लिएर काठमाडौं विश्वविद्यालयको एउटा सेमेस्टर र हाल कलेज अफ अप्लाइड बिजनेससम्म आइपुग्दा मैले २०/२२ हजार विद्यार्थीलाई पढाए हुँला । मेरा विद्यार्थीका लागि म कहिले अभिभावक बनेँ, कहिले साथी, कहिले पथप्रदर्शक त कहिले निरीक्षक बनेँ । यी सबै भूमिकामा मैले सधैं अधिकतम र कमजोर विद्यार्थीका लागि लडेको छु, मैले तिनलाई गर्नसक्ने जति न्याय गर्ने प्रयास गरेको छु । मेरो कक्षा लिनआउने विद्यार्थीहरूलाई मैले कहिल्यै छुट्टै टयुुसन पढाइन । उनीहरूका लागि म चौबीसै घन्टा उपलब्ध हुन्थेँ, टेलिफोनमा, बाटोमा, चियापसलमा । मलाई जहाँ भेटेर भए पनि विद्यार्थीले आफ्ना प्रश्न र समस्या राख्थे ।
मेरो जीवनमा अभावहरू नभएका होइनन् । कठिनाइ अवश्य थियो । तर श्रीमतीको र मेरो इमानदार कमाइले हामीलाई व्यवहार धान्न पुगेकै थियो । आफ्नो विश्वास बेचेर मैले विद्यार्थीहरूमाथि अन्याय गर्न चाहिन । टयुुुुसन पढाउनतिर लाग्दा टाढा-टाढाबाट आएर क्याम्पसको कोठामा, बेन्चमा, डेस्कमा, भुइँमा, झयालमा बसेर र उभिएरै पनि मेरो कक्षा लिन चाहने विद्यार्थीमाथि मैले अन्याय गर्न सक्दिनथेँ । आश र त्रासले मान्छेलाई सम्झौता गर्न, झूट बोल्न र झुक्न बाध्य पार्छ । आश र त्रास राखेको भए म पनि रजिष्ट्रार, रेक्टरजस्ता पदमा पुर्याइन्थेँ होला । तर मलाई कहिल्यै त्यो चाह भएन । विद्यार्थीहरूको सफलतालाई नै मैले आफ्नो सफलता र उनीहरूको असफलता आफ्नो असफलता मान्दै झन्डै चार दशक बिताएँ । मेरो शैक्षिक जीवनको पचहत्तर प्रतिशतभन्दा बढी हिस्सा शंकरदेव क्याम्पसमा बित्यो । मेरो कक्षा धेरैजसो बिहानी सत्रको पहिलो पिरियड हुन्थ्यो । प्रायःजसो सवा ६ बजे सुरु हुने मेरो कक्षामा सवा ६ ठीक सवा ६ बजे नै बज्थ्यो, न एक मिनेट छिटो, न एक मिनेट ढिलो । मेरालागि सबैभन्दा ठूलो कुरा मेरो कक्षा नै हुन्थ्यो । मलाई कहिल्यै पनि हुरीपानीले कक्षामा पुग्न छेकेनन् । ४६ सालको आन्दोलनमा चैत २४ गतेदेखि कफर्यु लाग्यो । २३ गतेका दिन बाहिर गोली चलिरहँदा भित्र म कक्षा लिइरहेको थिएँ । ३८ वर्ष पढाउँदा पढाइ भएकाबखत मुस्किलले ३८ दिन कक्षामा अनुपस्थित भएहुँला, आँखाको अपरेसन या अरू कुनै आकस्मिकताका कारण । बैसठ्ठी सालमा आँखामा मोतियाविन्दुको अपरेसन गरेको बखत तीन दिन विदा बसेँ । खासमा अपरेसन पनि विदाकै बेला पारेको थिएँ । तर पनि तीन दिन कक्षा छोड्नु नै पर्यो । त्यति धेरै समय लगातार विदामा पहिले कहिल्यै बसेको थिइन, पछि पनि बसिन । कुनै दिन शरीर आलस्य र काम गर्न कठिन भयो होला, तर कक्षा लिने सवालमा ती कुरा कहिल्यै बाधक बनेनन् । सायद कक्षाप्रतिको आशक्ति र अनुशासन चेतनाले त्यस्तो भयो होला । अनुशासनको घेराले जिन्दगीलाई एउटा आकार दिन्छ, निश्चितता दिन्छ र गर्व गर्ने आधार दिन्छ । अनुशासनमा चुकियो भने जीवनका अन्य पक्षमा पनि चुकिन्छ । मैले आत्मसात गरेको अनुशासनको घेराले मेरो जिन्दगी सार्थक बनेको छ भन्ने ठान्छु ।
मेरो पेसागत र पारिवारिक मूल्य-मान्यता एकआपसमा बाझ्दा धेरै अप्ठेरा क्षणहरू पनि आएका छन् । २९/३० सालतिरको कुरा हो, मेरी आफ्नै दिदी गर्भवती हुनुहुन्थ्यो । उहाँले बिकमको जाँच दिनुपर्ने थियो । प्रश्नपत्र मैले नै सेट गरेको थिएँ । तर मैले 'दिदी, यी-यी प्रश्नहरू महत्त्वपूर्ण छन्, तयारी गर' भन्न सकिन । उहाँ फेल हुुनुभयो । यही घटना फेरि मेरी छोरीको केसमा पनि दोहोरियो । उनी पनि फेल भइन्, मैले नै सेट गरेको प्रश्नपत्रमा । जसरी मेरा विद्यार्थीहरू असफल हुँदा मेरो मन दुख्छ, त्यसरी नै मेरी दिदी र छोरी फेल हुँदा पनि मेरो मन दुख्यो । तर पनि पेसाको नैतिकतासँग सम्झौता गर्न मेरो विवेकले दिँदै-दिएन । राम्रो गर्ने विद्यार्थीको उचित मूल्यांकन होस् र यदि कसैले नराम्रो गरेको छ भने उसले कम्तीमा पनि आफ्नो मिहेनतअनुसारको फल पाओस् भन्ने मेरो सधैंको ध्येय रहयो । मेरो यही ध्येय सार्थक हुने वातावरण नभएकाले ०६४ सालको माघ महिनामा जागिर अवधि सकिन २ वर्ष बाँकी हुँदाहुँदै मैले शंकरदेव क्याम्पसबाट स्वैच्छिक अवकाश लिएँ । मेरालागि बुढेसकालको आर्थिक सहारा पेन्सनभन्दा ठूलो थियो मेरो जिन्दगीको विश्वास, मेरा विद्यार्थीप्रतिको न्याय ।
मेरा छोराछोरीहरूले पनि मबाट सहृदयता र इमानदार कर्तव्यबोधको गुण सिकेका छन् । मैले उनीहरूलाई दिनसकेको सबैभन्दा ठूलो पैतृक सम्पत्ति त्यही नै हो । एउटा शिक्षक भएपछि पूरा गर्नुपर्ने विद्यार्थीप्रतिको न्यायको दायित्व पूरा गरेर मैले मेरो जिन्दगी सार्थक बनाएको छु । त्यसमा मलाई गर्व छ । म सन्तुष्ट छु ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ँमेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।
Recent Tweets |
Exchange Rates
Last Updated - 8 minutes ago
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

