Mero Zindagi Mero Bishwas
निर्मला ज्ञवाली
(दृष्टिबिहीन)
म असाधारण रूपमा सबल छु र त्यसैमा मलाई विश्वास छ
Read 862 times
म अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीमा स्नातक तहमा पढ्दै थिएँ । एकदिन एउटा साथीले निधारमा गोली हानेर आत्महत्या गर्ने प्रयास गर्यो । भाग्यवश ऊ मरेन । तर बाइस वर्षको उमेरमा उसले दृष्टि गुमायो । उसको अवस्था देखेर आमाबा, साथीसंगी सबै दुःखित हुन्थे । तर एकदिन मसँग भेट्दा उसले भन्यो, 'निर्मला, संसार आँखा देख्ने बेलाभन्दा मैले अहिले राम्रो देखिरहेको छु ।' उसको स्वरमा अचम्मको आत्मविश्वास थियो । त्यो कुरा सुन्दा मलाई पहिलोपल्ट आफू दृष्टिविहीन भएकोमा सन्तोष लाग्यो । भर्खरै दृष्टि गुमाएको मानिसले त संसार पहिलेभन्दा राम्रो देख्छ भने म त झन् जन्मैदेखि दृष्टिविहीन, मैले भोगेको संसार झन् कति सुन्दर होला ?
म असाधारण रूपमा सबल छु । यो मेरो विश्वास हो । अरूले हेरेर गर्ने धेरै काम म नहेरी गर्छु । अरूले जस्तै म संसार हेर्न सक्दिन, तर उनीहरूको दृष्टिको संसारलाई म आवाज र स्पर्शबाट चिन्छु, अनि बुझ्छु पनि । माध्यम फरक भए पनि देख्ने र नदेख्ने दुवैले बुझ्ने संसार एउटै छ ।
मेरो संसार भनेकै आवाज र स्पर्श हो । मैले पहिलोपल्ट आमालाई पनि त्यही आवाज र स्पर्शबाट चिनेँ । आमाले मलाई सुनाउँदै र छुवाउँदै भन्नुहुन्थ्यो, 'जीवनमा आएको अवसर तोरीको दानाजत्रो भए पनि नछोडेस् ।' गुल्मीमा घर नजिकै स्कुल थियो । म सँगैका साथीहरू विद्यालय जान्थे । मास्टरले पढाएको आवाज घरसम्मै सुनिन्थ्यो, मेरा कानमा ठोकिन्थ्यो । म कानलाई त्यही आवाज आएतिर सोझयाउथेँ र मास्टरले उच्चारण गरेका आवाजहरू ध्यानपुर्वक सुन्थेँ । विद्यालयबाट आएको आवाजबाटै मैले कखरा सिकेँ ।
चार कक्षासम्म मैले दृष्टिविहीन साथीहरूसँगै पढेँ । पाँच कक्षादेखि मैले विद्यालय फेरेँ । नयाँ स्कुलका ६०० विद्यार्थीमध्ये म एक्ली दृष्टिविहीन थिएँ । साथीहरूले लेख्ने शब्द र मैले लेख्ने शब्दको अर्थ एउटै हुन्थ्यो । तर लेख्ने तरिका भने फरक । साथीहरू कलमले लेख्थे, म पिनले । उनीहरू अक्षर देखेर चिन्थे, म छामेर । उनीहरूको जस्तै मेरा पनि रंगिन रहर र सपना थिए । तर म रंगहरू छुटयाउन सक्दिन थिएँ । लक्ष्य एउटै, बाटो एउटै थियो । तर हाम्रो यात्रा गर्ने शैली फरक थियो ।
जाँचमा जब विज्ञान, गणित, अनि लेखा विषयमा चित्र बनाएर दिनुपर्ने प्रश्नहरूको उत्तर लेख्न कठिन भयो, त्यति बेला मलाई लाग्यो, मैले हिँडेको बाटो दृष्टियुक्तहरूका लागिमात्र बनाइएको हो । विद्यालयमा मैले छामेर पढ्ने किताबहरू पनि पर्याप्त थिएनन् । साथीहरू पाटीमा लेखेका कुरा हेरेर बुझ्थे, तर मैले सुन्नमात्र सक्थेँ । तर सुनेपछिको बुझाइ भने एउटै हुन्थ्यो । एसएलसीको परीक्षामा चित्र हेरेर लेख्नुपर्ने धेरै प्रश्न आए । देख्न नसक्ने भएकाले ५६ नम्बरजतिको प्रश्न मैले छाड्नुपर्यो । तैपनि म प्रथम श्रेणीमा पास भएँ । त्यसले मेरो असाधारण सबलतामाथिको विश्वास अझ बलियो बनायो ।
मेरा आँखाले देख्न सक्तैनन् । त्यसैगरी कसैको खुट्टाले काम नगर्ला, कसैले कान नसुन्लान् । तर मेरालागि यी अंग भनेका त मात्र माध्यम हुन् । चिन्ने, बुझ्ने र गर्ने त मनमस्तिष्कले नै हो । मसँग आत्मविश्वासी मन र विवेकी मस्तिष्क छ । त्यही मन र मस्तिष्कलाई म स्पर्श र आवाजले निर्देशन दिन्छु । अझ धेरै पर पुग्न र केही गर्ने सपना छ । मेरा सपनाहरू यही आवाज र स्पर्शको सहायताले पूरा हुनेछन् । किनकि म असाधारण रूपमा सबल छु र त्यसमा मलाई पूरा विश्वास छ ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम "मेरो जिन्दगी मेरो विश्वास'बाट साभार गरिएको हो ।
Recent Tweets |
Exchange Rates
Last Updated - 1 minute ago
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

