CURRENT ARTICLE
माओवादीको कुम्भकर्णे निन्द्रा
महामारीको विस्फोटसँगै उता जाजरकोटतिर हारगुहार र विलौना व्याप्त हुँदै थियो। यता कान्तिपुरी नगरीमा ? यस नगरीमा सुयोग्य माधवकुमार नेपालको अब्बल नेतृत्वमा बाइसमुखे सरकार बन्यो। माधव सरकारको कामको थालनी हाम र झ्वामबाट भयो। आप\mनो चरित्रको चिनारी दिँदै यसले हत्तपत्त राज्यको ढुकुटीमा हात लम्कायो। अनि गठबन्धन सरकारका ख्वामित्हरूलाई यसले एक अर्बभन्दा धेरै रकम बाँड्यो। को थिए ती भाग्यमानीहरू, जसलाई सबैभन्दा ठूलो शुभलाभ प्राप्त भयो ? लज्जास्पद यथार्थ भन्छ, ती महान् मनीषी एमाले प्रथम पुरुष माधव नेपाल र काङ्ग्रेसी द्वितीय पुरुष रामचन्द्र पौडेल थिए। नेपालले करोडभन्दा बढी रकम मुठ्याए, पौडेलले त्यसको आधाआधी। राज्यको ढुकुटीबाट खल्तीकरण गरिएको यो रकम स्रेस्ता मिलाएर खानलाई हो। यता यिनीहरू यसरी खाँदै थिए, उता जाजरकोटतिर मानिसहरू मरिरहेका थिए। रोग मामुली थियो। उपचार जटिल थिएन। सरसफाइ, पोसिलो खान्की, सफा पानी र जीवनजलका पोका पाए तिनका ज्यान बच्थे। तर, खाने धन्दामा लिप्त शासकलाई तिनको रत्तिभर वास्ता भएन। आफूलाई मोज छ। पहिचानविहीन र मूल्यहीन बस्तीका जीवहरू मरेर आप\mनो खती हुने आखिर के नै पो हो र ?
उता जाजरकोट, रुकुम, डोल्पा, रोल्पा, बाजुरा र डडेल्धुरातिर खबरविहीन खबर भएर मर्ने क्रम दिनानुदिन बढ्दो थियो। यता लम्पट शासनतन्त्रको अमानवीय नाट्यशालामा छाँट-छाँटका अभिनयहरू हुँदै थिए। उता त्यसरी मानिस मर्दै थिए, यता राष्ट्रपति यादव सडक खाली गरेर सोह्रघोडे बग्गीमा राजसी मुद्रामा सवार भए। उता त्यसरी मानिस मर्दै थिए, यता प्रधानमन्त्री माधव मानौँ देशमा पूर्ण अमन चयन भए सरी मग्न मुद्रामा इजिप्टतर्फ उन्मुख भए। उता त्यसरी मानिस मर्दै थिए, यता बाइसे सरकारका साझा संरक्षक जीपी कोइराला दिव्य सन्देशको उद्घोष गर्न गृहनिवास विराटनगर पुगे। उता जीवनरक्षा र शान्तिको त्यत्रो याचना थियो, यता नरसंहारकारी युद्ध निम्त्याउँदै कोइराला कुर्लिए - माओवादी लडाकुको समायोजन सेनामा हुँदैन, समाजमा मात्र हुन्छ। उता त्यसरी मानिस मर्दै थिए, यता रक्षामन्त्री भण्डारी जंगी अड्डाको प्रवक्ता भएर दिल्ली पुगिन्। दिल्लीमा तिनले मानिसको ज्यान जोगाउने औषधि होइन, ज्यान मार्ने हतियारका लागि पुकारा गरिन्। प्रधानसेनापति रुक्माङ्द कटवाल कोभन्दा के कम ? उता त्यसरी मानिस मर्दै गर्दा यता श्री कटवालले बकाइदा आदेश ठोकेर मुलुकभरिका सैनिक ब्यारेकमा आफ्नो महावाणी लेखाए। संस्कारवश यिनलाई लाग्दो हो, ज्ञानेन्द्रपछिको ज्ञानेन्द्र आखिर मै त हुँ। त्यो खान्दानी, त्यो वंश, त्यो शान र त्यो संस्कृतिको बिँडो मैले नथामिदिए कसले थाम्छ ? आखिर बिँडो थाम्ने जिम्मा बाइस मुखे गठबन्धनले दिएकै छ, इजिप्टको सयर गरी फर्केका प्रधानमन्त्री माधव महामारी पीडितहरूलाई दर्शन र आश्वासन कृपा गर्न लौहचरीमा मुसिकोट पुगे। श्री माधव तेस्रो काँटको हास्य कलाकारको मुद्रामा थिए। यिनको मुहार र वचनमा उद्वेलन र चिन्ता शून्यप्रायः थियो। जीवनको भीख माग्न हात पसारिरहेका आर्त जनहरूको क्रन्दन श्रवण गर्दै ज्ञानेन्द्र शाहकै भाषामा यिनले भने - पीर गर्नु पर्दैन, सब ठीक हुन्छ। अनि यिनले मृतकका आहत परिवारजनलाई दस हजार रुपियाँ दिने आश्वासन दिए। हात्तीका मुखमा जीरासरहको त्यो दश हजार विपत्तिग्रस्त जनहरूप्रति गरिएको क्रूरतम ठट्टा थियो। श्री माधवले राज्यको ढुकुटीबाट धुतेको १६ लाख रुपियाँ आफूलाई पाकेट खर्च राखेर बाँकी एक करोड पीडितहरूलाई दिएका भए निकै मानिसको ज्यान बच्थ्यो। त्यो यिनको पैत्रिक सम्पति थिएन। न त त्यो यिनको श्रम, सीप र लगनको उपज नै थियो। तर किन दिन्थे ? लोकोक्तिले 'लोभको भाँडो उभिन्डो' त्यसै भनेको हो र ?
यी पात्रहरू फरक छन्। तर, प्रवृत्ति एकै हो। यिनको मति र मनोवृत्तिले भन्छ, यी सबै खलपात्र जातका जीव हुन्। यिनको ध्याउन्ना एक छ। यिनको धून एक छ। यिनको अभीष्ट एक छ। र, यिनको गन्तव्य एक छ। त्यो हो, जनादेशको अपमान गर्नु। जनअपेक्षाको उपेक्षा गर्नु। कथनीमा लोकतन्त्र र करनीमा भोगतन्त्रको अभ्यास गर्नु। र, बेथिती, अन्याय, अशान्ति र युद्धका जरामा मलजल हाल्नु। सके पश्चगमकै ध्वजा उठाउनु, नसके पितापुर्खाका पालादेखि खाइपाई आएको अख्तियार, दौलत, वर्चस्व र सुख-सयललाई यथास्थितिमा अकण्टक राख्नु।
खाओवादीको सनातन धर्म खानु हो। खानेहरू चिनिएकै हुन्। माओवादी ? जाजरकोट भेगमा मृत्युको आक्रमणमा परी मानिसहरूको त्यत्रो कोलाहल भइरहँदा कहाँ के गर्दै थियो माओवादी ? थाहा छ, अन्यवादीहरूझैँ ऊ पनि फुस्रा ओठ लिएर सत्तातिरै फर्केको थियो। सत्ताको न्यास्रोले उखर्माउलिएको ऊ दुई-तीन सातामा सरकार गिर्ने हावादारी जोखाना हेर्दै थियो। ऊ अबको प्रधानमन्त्री प्रचण्ड हुने कि कुनै जण्ड हुने भनी आपसमा गाँड कोराकोर गर्दै थियो। ऊ अबको पाइलो राष्ट्रिय सरकार कि जनविद्रोह भनी बेतुक ध्वनित हुने विवादमा अल्झेको थियो। आखिरमा जब मिडिया बोल्यो र माधव सरकारले कन्दै मुख खोल्यो, माओवादीलाई बल्ल जाजरकोट भेगको सम्झना भयो। र, थाल्यो ऊ अख्तियार र दायित्वविहीन माधव सरकारसँग व्यर्थको गनगन गर्न। माओवादीको यो गनगन जाजरकोटसम्बन्धी त्रासद कथ्यको पाद टिप्पणी हो। जनसाधारणले पाद टिप्पणीलाई पदुवा टिप्पणी भनी बुझ्लान्। यसो गम्दा कुरा ठीकै हो।
जाजरकोट भेगका नरनारीले जनयुद्धकालमा माओवादीलाई आफू भोकै, नाङ्गै, अनिदो र असुक्षित भएर पनि गाँस, बास, कपास र सुरक्षा दिएको थिए। तिनले जन र ज्यान पनि दिएकै हुन्। चुनावमा एकलौटीजसो मत दिएर माओवादीलाई सभासद् पनि बनाइदिएकै हुन्। तर लाग्छ, माओवादीले खोलो तर्यो, लौरो बिस्र्यो। आफू जन्मेको र हुर्केको, आफ्नो पहिचान र विम्व बनेको मातृथलोलाई माओवादीले यसरी बिर्सनु कृतघ्नता त हुँदै हो, धृष्ट शब्दमा भनुँ भने यो विश्वासघात पनि हो।
माओवादीसित युथ फोर्सको जमात थियो, जन मिलिसियाको जम्बोरी थियो। उसलाई पैसाको पनि कमी थिएन। माधव सरकारले स्रेस्ता मिलाएर खान सभासद्हरूलाई भर्खरै द-दस लाख बाँडेको थियो। त्यो रकम माओवादीले पनि बिना नैतिक प्रश्न हात थापेकै हो। त्यो विशाल रकमराशिले, त्यो लुटको थैलोले जाजरकोट भेगका निकै मानिसको ज्यान बचाउन सक्थ्यो। माओवादी सिंहदरबार, बालुवाटार दरबार र शितल निवास दरबारमा घेरा हालेर शासकहरूका स्वार्थ लम्पट दृष्टि जाजरकोट भेगको अकथनीय पीडातर्फ डोर्याउन पनि सक्थ्यो। तर, जाजरकोट भेगमा त्यत्रो कोलाहल हुँदा पनि माओवादी यतिका दिनसम्म कानमा तेल हालेर चुपचाप बसिरह्यो। माओवादी अरूलाई खाओवादी भन्छ। तर, यो अकर्मण्यता, यो संवेदनहीनता र यो कृतघ्नताले उसलाई खाओवादीमै कायाकल्प गरिरहेको छैन र ?
अकल्पनीय महामारीको कालो छायाँमा परी करुण क्रन्दन गरिरहेका मृतात्मा र जीवितहरू क्रोधाग्निले जल्दै आफैँलाई सोधिरहेका होलान् - कुम्भकर्णे सपनामा जाजरकोटको कोलाहल सुन्दै यतिका दिनसम्म कहाँ निदाइरहेको होला माओवादी ?
शुक्रवार, 24 जूलाई 2009 10:36 खगेन्द्र संग्रौला
स्रोत - नागरिक
Comments on this article
Recent Tweets |
Author Information
Khagendra Sangraula
More Articles from same author
Mero Jindagi Mero Biswas (This I believe)
बोल्नेले नै जित्छ »
मेरो स्वास्थ्यकर्मीको पेसा ३० वर्ष पुरानो भयो । सोलुको सोताङबाट हेल्थ असिस्टेन्टको रूपमा यो यात्रा थाल्दा गाउँको अधिकांश मानिस गरिब र अशिक्षित थिए । उनीहरूलाई ठूलो अस्पताल जानु धेरै गाह्रो कुरा थियो । उनीहरू मलाई त्यहाँको डाक्टर नै ठान्थे । सामान्य बिरामीमात्र होइन, हातखुट्टा भाँचिएका, जटिल प्रकृतिका सुत्केरी केश पनि आउने गर्थे । स्वास्थ्यचौकी ल्याउन नसकिनेका लागि बोलाउन आउँथे । म उपचारको निम्ति घरमै पनि जान्थेँ । स्वास्थ्यचौकीमा मैले उपचार गर्न नसक्ने बिरामी नआउन् भनेर प्रार्थना गर्थें । किनकि गाउँलेले डाक्टर भने पनि वास्तवमा म एउटा हेल्थ...
Apr 15 2009 / 813 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

