CURRENT ARTICLE
म किन लागें राजनीतिमा ?
गाउँको किसान परिवारमा जन्मेको हुनाले गाउँ वरिपरि जुन खालको शोषण उत्पीडन थियो त्यसलाई अन्त्य गर्नको निम्ति राजनीतिमा लाग्नु पर्छ भन्ने सामान्य चेतना बाल्यकालमै सुषुप्त रुपमा परेको थियो । र, पछि उच्च शिक्षा हासिल गरिसकेपछि आफुले आर्जन गरेको ज्ञानको कारणले पनि राजनीतिमा लाग्नु पर्छ भन्ने मलाई वोध भयो । किनभने राजनीति भनेको समग्र राज्यको अध्ययन गर्ने र त्यसलाई वदल्ने शास्त्र हो ।
त्यसैले राज्यको समुच्च नीति ठिक भएन भने अरू आंशिक प्रकारका आर्थिक, सामाजिक, सांस्कृतिक-प्राविधिक नीतिहरू सही हुन सक्दैनन् । राजनीति भनेको सबै नीतिहरूको मुहान हो । त्यसै भएको हुनाले जबसम्म देशको राजनीति स्वच्छ, सही, अग्रगामी, जनपक्षीय हुँदैन त्यतिवेलासम्म समाजका विद्यमान समस्याहरू समाधान हुँदैनन् भन्ने वोध भएर नै म राजनीतिमा लागें ।
खासगरी चण्ढीगढमा गएर आर्किटेक्चरमा स्नातक पूरा गरेपछि मलाई देशको निम्ति अझ केही गर्नुपर्छ भन्ने वढी वोध भयो । विशेषतः भारतमा नेपालीहरूको दीनहीन अवस्था थियो र देशभित्र पंचायती निरंकुशता चरम उत्कर्षमा थियो । त्यसैले राजतन्त्रको अन्त्य गर्ने, देशमा जनपक्षीय गणतन्त्रको स्थापना गर्ने, र देशको तीव्र आर्थिक-सामाजिक रुपान्तरण गर्ने यो लक्ष्यका साथ राजनीतिक बाटो मैले अंगालें । राजनीतिका पनि विभिन्न बाटाहरू मध्येमा यो माक्र्सवादी बाटो नै समाजलाई बदल्ने सबभन्दा उपयुक्त बाटो हो भन्ने लागेर म कम्युनिष्ट आन्दोलनमा होमिएको हुँ ।
अहिले म राजनीतिमा लागेको ३०-३५ वर्षपछि फर्केर हेर्दा देशमा जुन परिवर्तन भएका छन् त्यसमा थोरै भए पनि योगदान गर्न पाउँदा एउटा गर्वको अनुभुति हुन्छ । फेरि पनि राजनीतिक आन्दोलन समाप्त भएको छैन । किनकि जबसम्म यो देशमा सामन्तवादका अवशेषहरू वाँकि रहन्छन्, विदेशी थिचोमिचो वाँकि रहन्छ र देश पूर्ण रुपले आर्थिक विकासको शिखरमा पुग्दैन त्यतिवेलासम्म राजनीतिक आन्दोलन समाप्त भएको मान्न सकिदैन ।
त्यसमाथि पनि नेपाल जस्तो वर्गीय-जातीय-क्षेत्रीय-लैंगिक समस्याहरू रहेको समाजमा यी समस्याहरू पूर्ण रुपले समाधान नभएसम्म भिन्न रुपको आन्दोलन आवश्यक पर्छ । त्यसैले अहिले पनि म आफुलाई राजनीतिक रुपमा अझै वढी सक्रिय भएर लाग्नु पर्छ भन्ने ठान्दछु ।
म सानो छँदै ०१७ सालमा राजा महेन्द्रले पंचायती शासन जुन थोपरेका थिए त्यसका विरुद्ध नेपाली काँग्रेस लगायतका पार्टीहरूले आन्दोलन छेडेका थिए । त्यसैक्रममा एक जना मेरा मामा नाता पर्ने मान्छे घरमा आएर भूमिगत बसेको मैले देखेको थिएँ । र, तिनैबाट नै यो राजतन्त्रको विरोधमा आन्दोलन गर्नु आवश्यक रहेछ भन्ने मेरो बाल मष्तिस्कमा विचार र भावना प्रवेश गरेको थियो । त्यसपछि ज्ञान आर्जन गर्दै जाने क्रममा क्रमशः चेतना विकास हुँदै गयो । र मुख्यतः भारतमा पुगेर उच्च अध्ययन गरिसकेपछि नेपालको एउटा दीनहीन अवस्था विश्वमा देखिसकेपछि यो देशलाई साँच्चै सामन्तवाद र राजतन्त्रको चंगुलबाट मुक्त गर्नु पर्दछ भन्ने भावनाका साथ म भारतबाट नै अखिल भारत नेपाल विद्यार्थी संघको निर्माण गरेर आफ्नै ढंगले राजनीतिमा होमिएँ र यहाँसम्म आइपुगें ।
मेरो आफ्नो वाल्यकालको रुचि विज्ञान र खाशगरी ब्रम्हाण्डको अध्ययन् गर्ने विषयमा वढी थियो । हाम्रो पुख्र्यौली एउटा ज्योतिष पेशा अंगाल्ने खलक भएर हो अथवा अन्य कुनै कारणले हो म बच्चादेखि नै अन्तररिक्षमा टोलाएर हेर्ने र यो ब्रम्हाण्ड कसरी बन्यो ? के हो ? बुझ्ने एउटा जिज्ञासा सधै जागिरहन्थ्यो । पछि स्कुलमा विज्ञानको अध्ययन गर्न थालेपछि खाशगरी अन्तरिक्ष विज्ञान र खगोल शास्त्रहरुमा मेरो वढी रुची रह्यो । र पछि पनि मैले ती विषयमा स्वअध्ययन वढाउँदै लगें । र अहिले पनि मलाई सवैभन्दा रुचि लाग्ने विषय यही व्रम्हाण्डको अध्ययन गर्ने खगोल शास्त्रसम्वन्धी नै हो ।
यदि नेपालमा राजनीतिक-आर्थिक क्रान्ति पूरा भएर समुन्नत समाज वनिसकेको भए म आफुलाई एउटा अन्तरिक्ष वैज्ञानिकको रुपमा उभ्याउँदा व्यक्तिगत रुपमा वढी आनन्दको महशुस गर्थें । तर हाम्रो पिछडिएको एउटा समाजमा मेरो व्यक्तिगत इच्छा-आकांक्षा- भन्दा पनि देश र समाजको निम्ति केही गर्नु पर्ने आवश्यकताले वढी प्राथमिकता पाउनु पर्छ भन्ने सोंचले म राजनीतिमा लागे र लागिरहेको छु ।
यसै सन्दर्भमा युवा साथीहरूलाई मेरो विनम्र आग्रह के रहन्छ भने अन्ततः राजनीतिमा लाग्नको निम्ति विवेक र साहसको खाँचो हुन्छ । विचार संगसंगै त्याग र वलिदान गर्ने भावना र आँटको पनि आवश्यकता पर्छ । त्यसनिम्ति युवाहरुमा नै विवेक र साहसको सवभन्दा राम्रो संयोजन हुन्छ । बुढेशकाल लाग्दै गैसकेपछि मान्छेको एउटा शारीरिक शिथिलता मात्रै होइन, मानसिक रुपमा पनि सुषुप्तता आउन थाल्छ । फेरि हाम्रो जस्तो निजी स्वार्थमा आधारित सामाजिक व्यवस्थामा मान्छे वुढो हुँदै गैसकेपछि वढी स्वार्थी पनि हुन थाल्छ । त्यसो भएको हुनाले युवाहरूले नै निस्वार्थ ढंगले देश र समाजको निम्ति त्याग र वलिदान गर्न सक्दछन् । इतिहासका उदाहरण हेर्यौं भने पनि सबै महान् शहीदहरू चाहे नेपालका गंगालाल देखि महान् जनयुद्धका शहीदहरू हुन् या भारतका भगत सिंहहरू हुन सबै नै आफ्ना शहादत प्राप्त गर्ने समयमा २०-३० वर्षका थिए । त्यसैले पनि यो २०-३० वर्षको उमेरका युवाहरूमा विवेक र साहसको जुन उच्च संयोजन हुन्छ, उनीहरूले नै अग्रगामी क्रान्तिकारी राजनीतिमा अगुवा भूमिका निर्वाह गर्न सक्छन् ।
हाम्रो नेपाल अहिले पनि सामन्तवादका विभिन्न अवशेषबाट मुक्त नभैसकेको प्रतिगामी शक्तिहरूले विभिन्न ढंगले टाउको उठाइरहेको, विदेशी थिचोमिचो अहिले पनि हावी भैरहेको यो अवस्थामा युवाहरूले फेरि एक चोटि आन्दोलनमा होमिने साहस गर्न सक्नु पर्दछ । यो देशलाई २१औं शताव्दी सुहाउँदो विश्वको सवभन्दा उन्नत देशमा परिणत गर्ने आँट गर्नु पर्दछ ।
युवाहरूमा अहिले जुन खालको वेरोजगारीको समस्याले गर्दा विदेश पलायन हुने वाध्यात्मक परिस्थिति छ त्यसको अन्त्य गर्न र देशभित्रै सम्मानजनक रोजगारीको अवस्था सिर्जना गर्न पनि आजका युवाहरूले एउटा अग्रगामी राजनीतिको बाटो अंगिकार गर्न आवश्यक छ । त्यसैले इतिहासका अनुभवबाट प्रेरणा लिएर हाम्रो युवा पंक्ति यो राजनीतिक आन्दोलनलाई पूर्णतामा पुर्याउने र समुन्नत नयाँ नेपाल निर्माण गर्ने अभियानमा लाग्न सकून् म यही हार्दिक कामना गर्दछु ।
खासगरी सन् १९८०-९० को दशकपछि जुन ढंगको कथित भूमण्डलीकरणको प्रभावको साथसाथै नवउदारवादी, असाध्यै व्यक्तिवादी आर्थिक र सांस्कृतिक नीति देशभित्र घुस्यो त्यसले गर्दा हाम्रो युवा पिंढीलाई असाध्यै व्यक्तिवादी र स्वार्थी बनाउँदै लगेको छ । त्यसले गर्दा हाम्रा कतिपय युवाहरु देश र समाजको निम्ति केही गर्ने भन्दा पनि निजी स्वार्थको प्राप्तिको निम्ति विदेश पलायन हुन श्रेयस्कर ठान्ने गर्छन् । विदेशमा पलायन हुँदैमा देशको समस्या समाधान हुँदैन । एउटा व्यक्तिले त आफ्नो स्वार्थ पूरा गर्न सक्ला तर समग्र समाजको आवश्यकता पूर्ति हुँदैन । त्यसो भएको हुनाले आजका युवाहरुले त्यसरी पलायन हुने बाटो लिएर होइन कि देश भित्रै संघर्ष गरेर यो समाजलाई बदल्ने बाटो लिनु उपयुक्त हुन्छ । त्यसो भनेर विदेशमा अध्ययनको निम्ति जानै हुँदैन भन्न खोजेको पनि होइन मैले । विदेशमा गएर अध्ययन् गरेर पनि सकभर आफ्नै देशमा र्फकने यहीं नै रोजगारीको अवस्था सिर्जना गर्ने र त्यसको निम्ति संघर्ष गर्ने बाटो लिनु वढी श्रेयस्कर हुन्छ भन्ने मलाई लाग्छ ।
हाम्रो कतिपय राजनीतिमा लागेका अभिभावकहरु आफुले राजनीतिमा लाग्नु पर्दाको दुःखकष्ट देखेर आफ्नै जीवनप्रति वितृष्णा जगाउँदै छोरा-छोरीलाई राजनीति बाहिर वा अन्य पेशामा लाग्न प्रेरित गरेको पाउँछौं । यो एउटा विडम्वनापूर्ण कुरा हो । यसले के देखाउँछ भने ती बाबु-आमाहरुले राजनीतिलाई समाज र देश परिवर्तन गर्ने वलिदानीपूर्ण संघर्ष ठान्नुको सट्टा राजनीतिमा लागेर व्यक्तिगत स्वार्थ खोज्ने प्रयत्न गरेका रहेछन् र त्यो नपाउँदा निराशिएर आफ्ना छोरा-छोरीलाई अर्कै वाटो लाग्न प्रेरित गर्ने रैछन् । त्यसो गर्नु स्वस्थ राजनीतिको परिचायक होइन । त्यसैले देश र जनताको राजनीति गर्ने मानिसहरु र आम नेपालीले आफ्ना छोरा-छोरीलाई पनि जबसम्म यो राजनीतिक परिवर्तनले पूर्णता पाउँदैन त्यतिवेलासम्म राजनीतिक बाटोमा लाग्न अभिप्रेरित गर्नुपर्दछ । त्यसैले मेरी एक मात्र छोरीलाई यो आन्दोलन पूरा नभएसम्म राजनीतिमा लागून भन्ने अपेक्षा गरेको थिएँ । उनले त्यो बाटो समातेर अघि लम्किरहेको देख्दा हर्ष र गर्वको अनुभुति हुने गर्छ मलाई ।
२०६६ अषाढ २५
प्रस्तूति: विश्वदीप पाण्डे
Original Source - Baburambhattarai.com
Comments on this article
Total comments - 1
wad a joke baburam ji
अहिले म राजनीतिमा लागेको ३०-३५ वर्षपछि फर्केर हेर्दा देशमा जुन परिवर्तन भएका छन् त्यसमा थोरै भए पनि योगदान गर्न पाउँदा एउटा गर्वको अनुभुति हुन्छ............. hahahah its really true our country had gone two hundred behind so you are proud of yourself or what atleast before 30 or 35 years there was not civil war and what is this.......... you r proud anyway nice joke by great politician.............
Posted on - 2009-09-10 12:08:34
Make comment
Recent Tweets |
Author Information
Dr. Baburam Bhattarai
More Articles from same author
Mero Jindagi Mero Biswas (This I believe)
प्रेम बाँडे बढ्छ »
सानो छँदा बुबाले मलाई बोकेर गाउँ डुलाउने गर्नुहुन्थ्यो । बुबाका हातका केही औंला थिएनन् । बुबाको मात्रै होइन, हामी बसेको टोलमा धेरैको समस्या यस्तै थियो । कसैको त हातै हुँदैनथ्यो । मुख बिग्रिएका र शरीरमा दागैदाग भएकाहरू पनि थुप्रै थिए । तर गाउँकै अर्को बस्तीका मान्छे भने हामीभन्दा भिन्न थिए । उनीहरूको शरीरमा यस्तो केही थिएन । पछि बुबाले भन्नुहुन्थ्यो । कुष्ठरोगले यस्तो भएको हो । गाउँमा पापीलाई लाग्ने रोग लागेको भनेर घृणा हुनथालेपछि उपचारका लागि कालिकोट छाडेर बुबा डडेलधुरा आउनुभएछ । रोग र गाउँले बीचको सम्बन्ध बुझ्दै गएपछि मलाई गाउँका मानिसहरूसँग कुरा गर्न र...
Apr 09 2009 / 815 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.40 | 75.00 |
| European euro | 1 | 95.38 | 96.15 |
| UK pound sterling | 1 | 114.78 | 115.70 |
| Swiss franc | 1 | 73.34 | 73.93 |
| Australian dollar | 1 | 67.58 | 68.13 |
| Canadian dollar | 1 | 70.60 | 71.17 |
| Singapore dollar | 1 | 55.20 | 55.64 |
| Japanese yen | 10 | 8.82 | 8.90 |
| Chinese renminbi (Yuan) | 1 | 10.94 | 11.03 |
| Saudi Arabian riyal | 1 | 19.84 | 20.00 |
| Qatari riyal | 1 | 20.44 | 20.60 |
| Thai baht | 1 | 2.39 | 2.41 |
| UAE Dirham | 1 | 20.25 | 20.42 |
| Malaysian ringgit | 1 | 23.83 | 24.02 |
| South Korean Won | 100 | 6.33 | 6.38 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.25 | |
| Danish Krone | 1 | 12.81 | |
| Hong Kong dollar | 1 | 9.57 | |

