CURRENT ARTICLE
मूर्ति-भञ्जक रूपचन्द्रको मूर्ति
रूपचन्द्र विष्ट साँचो अर्थमा मूर्ति-भञ्जक थिए । जहाँजहाँ पाइला टेक्थे, त्यहाँ उनी मूर्ति-भञ्जन गर्न अर्थात् मूर्ति तोड्न बेतोडले आफ्ना विचारको घन उठाइहाल्थे । त्यो सत्यको मखमली खोल हालिएको झूठको मूर्ति हुनसक्थ्यो । त्यो न्यायको चहकदार जलप लगाइएको अन्यायको मूर्ति हुनसक्थ्यो । त्यो सत्यको भ्रान्तिकारी आवरणमुनि छोपिएको असत्यको मूर्ति हुनसक्थ्यो । र, त्यो सदाचारको सुन्दर खोलभित्र लुकाइएको दुराचारको कुरूप मूर्ति हुनसक्थ्यो । रूपचन्द्र विष्ट आफ्नो मूर्ति-भञ्जन अभियानमा एक आँधी थिए, एक आतंक थिए । रूपचन्द्र एकमा अनेक थिए । चिन्तक पनि आफैं, आफ्नो चिन्तनलाई मूर्तरूप दिने व्यूहरचनाकार पनि आफैं, त्यो व्यूहरचनालाई व्यवहारमा साकार रूप दिन अभियानमा निस्कने जोदाहा पनि आफैं । एक छाँटका एकल अभियन्ता ! जोजो उनको अभियानको पछि लागे, ती उनले 'आऊ' भनेर आएका थिएनन् । ती उनको आकर्षणबाट डोरिएर यस्सै आएका थिए । ती उनको चिन्तन, कर्म र आचरणको सुवासबाट मोहित भएर आएका थिए ।
लाजमर्नु कुरो, अहिले उनै साहसिक मूर्ति-भञ्जक रूपचन्द्र विष्टको मूर्ति खडा गरिएको छ । सुन्छु, मूर्ति खडा गर्नेहरू उनकै अभियानका सहयात्रीहरू हुन् । सके यी मूर्तिपूजकहरू रूपचन्द्रपथका ज्ञाता र प्रवक्ता, अनुयायी र साधक भनी आफूलाई चिनाउनमा खुबै गर्व गर्दा हुन् । तर, मूर्ति-भञ्जक रूपचन्द्रकै मूर्ति खडा गरेर तिनले तिनका आदर्शको विम्बमा ध्वाँसो त दलिदिएका छन् नै, यिनले आफ्नै हातले ध्वाँसो दलेर आफ्ना अनुहार पनि हेरिनसक्नु बनाएका छन् ।
०३६ सालको जनमत संग्रहको चेतन-प्रवाहको धक्काले जब शाही पञ्चायतको धनु हल्लाइदियो, रूपचन्द्र विष्ट पञ्चायती राजनीतिको मैदानमा हाम्फाले । उनले आफ्नो राजनीतिको नाउँ 'जनमुखी' राखे । उनले चलनचल्तीको कुनै दर्शन वा राजनीतिक आदर्शको म अनुयायी हुँ भनेनन् । बरु शाही पञ्चायतका आँखा छल्न उनले 'थाहा' शब्द रोजे । त्यो 'थाहा' उनको दर्शन, सिद्धान्त, आदर्श सबैथोकको प्रतीक थियो । उनले 'थाहा'का अनेक आकारका रबरछाप बनाए र जहाँ गयो त्यहाँ उनी भकाभक 'थाहा' छाप ठोक्दै हिँडे । सडकका भित्तामा 'थाहा' छाप, घरका भित्तामा 'थाहा' छाप, चौतरी-देउरालीमा 'थाहा' छाप, युवाहरूका छाती-छातीमा 'थाहा' छाप । नागबेली परेको जीवन-यात्रामा वाहन चालक र प्रधानाध्यापकबाट प्रधानपञ्च हुँदै उनी 'जनमुखी' शैलीमा राष्ट्रिय पञ्चायतको चुनाव लड्न पुगे । त्यो पनि उही 'जनमुखी' शैलीमा । हातमा एक अम्मलको पर्चा छ, मुखमा छ 'ए भाते, कुकुरहरू' हो ! कुमबाट हाते माइक झुन्डिएको छ, उनी कबाडीखानाबाट झिकिएजस्तो पत्रु स्कुटरमा चढेका छन् । सित्तीमा कसैको केही नलिने उनको कठोर नीति छ । उसो त विचार र आदर्शबाहेक उनी कुनै पनि भौतिक वस्तु सित्तीमा कसैलाई नदिन पनि प्रतिबद्ध छन् । चुनावी खर्च जोड्न उनी सुका-मोहोरमा 'भाते, कुकुरहरू'लाई पर्चा हातहातै बेच्छन् । वचन त्यस्तो क्षुद्र छ, तैपनि मानिसहरू हाँसी-हाँसी उनका पर्चा किनेर बडो खुल्दुलीसाथ पढ्छन् । रूपचन्द्रको मनोरचना र अभिव्यक्ति शैली तिनले बुझेका छन् । र, नै तिनका नजरमा रूपचन्द्रको 'भाते, कुकुरहरू' क्षम्य छ ।
राष्ट्रिय पञ्चायतको चुनावी सरगर्मी जारी छ । जताततै भित्ताभरि अरू उम्मेवादरहरूका एकदमै भड्किला चुनावी फोटा टाँसिएका छन् । रूपचन्द्रको त्यस्तो केही छैन । ती भन्छन्- 'चुनाव लड्ने फोटाले होइन, विचारले हो । राजनीति गर्ने अनुहारले होइन, भावनाले हो ।' उनको त्यो भनाइमा मूर्ति-भञ्जनको हुंकार बोल्छ । तर, उनै रूपचन्द्रलाई श्रद्धा टक्रयाउन भनी उनैले भन्ने गरेका 'भाते, कुकुरहरू'ले अहिले तिनको कर्मथलो पालुङमा तिनको आदर्शलाई क्रूरतासाथ कुल्चिँदै तिनको निष्प्राण र भावशून्य मूर्ति ठड्याएका छन् । त्यो मूर्तिमा रूपचन्द्रको प्रिय आदर्शलाई गिज्याइएको त छ नै, त्यसमा कर्मकाण्डीय मूर्तिपूजाप्रतिको भयानक आशक्ति पनि प्रकट भएको छ ।
कुरा फेरि उही पञ्चायती चुनावका । रूपचन्द्र सूत्रवचनहरूमा आफ्नो राजनीतिको अर्थ ट्याक्क भर्छन् । अनि, उनी आफ्नो अभियानलाई 'निष्पक्ष अभियान' भनी अथ्र्याउँछन् । तैपनि पक्षधरताको ध्वजा उचालेर उनी उद्घोष गर्छन्- 'श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन, छाप्रोको राजनीति दरबारले गरेर हुँनैन ।' उनी कुरा घुमाएर आफ्नो चिन्तनको सार प्रकट गर्छन्- 'हामी कसैका होइनौँ, कोही हाम्रा होइनन् । हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रा ।' उनको मनको पन्तुरोभरि जनचेतना जगाउने राजनीतिका यस्ता सूत्रवचनहरू छन्, र उनको झोलामा छ पेट भर्ने रुखोसुखो रासन । उनी ज-जसका घरमा बस्छन्, आफ्नो र घरबेटीको रासन बाँडीचुँडी खान्छन् । खातिरदारी उनलाई मन पर्दैन, खुला र सादापन पाए उनी फुरुङ पर्छन् । उनी फिरन्ते भेषमा मकवानपुर जिल्लाका दुर्गम र विकट भेगका एक-एक अभावग्रस्त छाप्राहरू चहार्छन् । उनी पलेँटी कसेर गुन्द्रीमा बस्छन् र मन फुकाएर गाउँलेहरूसँग बात मार्छन् । आफू सूत्रमा छोटोमा छिटो बोल्छन् । र, अरूहरूलाई मनका बह पोख्न मनग्गे मौका दिन्छन् । यसरी माओका शब्दमा उनी गाउँलेरुसँग माछो र पानीको साइनो गाँस्छन् । यी हुन्- 'थाहा' आन्दोलनका प्रणेता 'जनमुखी' रुदाने !
जिब्रामा विचारको तेजस्वी घन छ । रूपचन्द्र मूति-भञ्जन गर्ने आफ्नो तुफानी यात्रामा गतिमान् छन् । जेजे हो र जो जस्तो हो, उनी त्यसलाई प्वाक्क त्यस्तै भन्दिन्छन् । उनलाई न केहीको डर छ, न कसैको त्रास । के प्रशासक, के शासक, के साहु, के मठाधीश सबैलाई उनी 'ए भाते, भ्रष्टाचारी, दुराचारी' भन्न बाँकी राख्दैनन् । भन्छन् र भनिनेको साँचो चिनारी उसकै आँखासामु उदांगो पारिदिन्छन् । उनलाई कसैका अगाडि निहुरिएर हात पसार्नु छैन । उनको अदम्य नैतिक शक्तिको मुहान त्यहीँ छ ।
'जनमुखी' भेषमा नवीन विचारको शक्तिले ओतप्रोत भएर जब रूपचन्द्रले राष्ट्रिय पञ्चायतमा पाइला टेके, यो कहाँको को आइलाग्यो भनेर राजाका दाससरहका पञ्चहरू तिल्मिलाए । पञ्चायतलाई 'राष्ट्रियता' र 'विकास'को मायावी झल्लरीभित्र सजाइएको थियो । उनले त्यो झल्लरी ध्वाध्र्वारी च्याते । र, भने- भाते हो ! यो महाभ्रष्टाचारी व्यवस्था हो । त्यो महाभ्रष्टाचारी व्यवस्थाका नियम र कानुन, नीति र कार्यक्रम बनाउने राष्ट्रिय पञ्चायतको अध्यक्षलाई पञ्च 'माननीय'हरूले निहुरिएर 'सम्माननीय' भन्नुपथ्र्यो । रूपचन्द्रले भन्न इन्कार गरे । अध्यक्षको नाउँको जीव उनलई 'माननीय' भनी पुकाथ्र्यो । उसलाई पनि उनले बराबरीको साइनो लगाएर 'माननीय'मात्र भने । राजाका छायारूपी पञ्चहरूको भीडमा खैलाबैला मच्चियो । र, उनलाई 'माननीय' फिर्ता लिएर 'सम्माननीय' भन्न गर्नुविधि कर्काप गरियो । तर, 'थाहा'को तत्त्वबोध भएका रुदानेले टेरपुच्छर लाएनन् । छाती फुकाएर उभिँदै बेलायती बैठकको सभाकक्ष नै थर्किनेगरी उनले भने- कोही 'सम्मानीय' हुन जनता 'जाननीय' हुनुपर्छ । त्यसै भइन्छ 'सम्माननीय' ? बस्, 'थाहा'सँग जोरी खोज्ने 'भाते' पञ्चहरू मुखामुख गर्दै तैँ चुप् मै चुप् भए ।
मूर्ति-भञ्जक रूपचन्द्रको 'थाहा' अभियान निख्ला वचनको आत्मतुष्टिकारी विलासमात्र थिएन । सिर्जना र निर्माणको चक्र पनि त्योसँग नङ-मासुझैं गाँसिएको थियो । रूपचन्द्रका सिर्जनशील हात शिक्षा र कृषि, सडक र सहकारीतिर पनि लहसिए । बाटो खन्ने अगुवा आफैं, ढुंगा बोक्ने अगुवा आआफैं, बारी खन्ने अगुवा आफैं, आफैं आफ्नो खटनकर्ता, आफैं आफ्नो कुल्ली । रूपचन्द्रका 'नारी, किसान, कलिला'हरूले उनलाई आँखाका नानीमा र हृदयको झोलीमा प्रेमले सजाएर राखेको त्यसै हो र ?
'थाहा' फगत चेतनाका 'जनमुखी' तरंगहरू उनिएर बुनिएको खुकुलो आन्दोलन थियो । रूपचन्द्रमा न संगठनको संरचना बनाउन उत्रो चिन्ता थियो, न त नेतृत्वको तहगत पंक्ति खडा गर्न चासो नै थियो । उनी चेतना र आदर्शको विशाल छाता थिए, त्यो छातामुनि ओत लाग्न मानिस यसै डोरिएर आउँथे । ०४६ सालमा जब बहुदलीय प्रजातन्त्र फक्र्यो, ठूला दलका प्रजातन्त्र र जनवादका उपासक हौँ भन्नेहरूले चुसाहा सेठहरूको मुक्त बजारमा लगेर आदर्शजति बुझाइदिए, र आफू टपरी बोकेर सत्ताको भान्सामा लुसुक्क पसे । 'जनमुखी' 'थाहा' आन्दोलन राजनीतिका अगस्ती खाओवादीहरूको घेराउमा पर्यो । यो मिचियो, यो किचियो, यो छिन्नभिन्न भयो र यो अलपत्र पर्यो । अनि रूपचन्द्रको बाँकी जीवन पराजित मुद्रा, एक्लोपन, उदासी र सुस्केरामा सकियो ।
'थाहा' चिन्तन सूत्र कविता र सूत्र गद्यमा रहस्यजस्तो भएर यत्रतत्र छरिएको थियो । न त्यसको व्यवस्थित खाका खिचियो न जनसाधारणले सहजै बुझ्ने भाषामा त्यसलाई लिपिबद्ध गरियो । आखिरमा कुनै रहस्यमय गुप्तज्ञानझैं त्यो रूपचन्द्रको एकान्तबाससँगै भूमिगत भयो । रूपचन्द्रका अनुयायीहरू जो थिए, तिनले 'जनमुखी' 'थाहा' पथको राम्ररी भेउ नै नपाएका अल्पज्ञानी बटुवाहरूको जस्तो अभिनय गरे । हुँदा-हुँदा अहिले ती मूर्ति-भञ्जक रूपचन्द्रको आदर्शलाई लतारेर निष्प्राण र रुढिमुखी मूर्तिमा पछार्न पो पुगे । लाग्छ, यो 'जनमुखी' 'थाहा' पथको कारुणिक दुर्दशा हो ।
विडम्बनावश, मूर्ति-भञ्जक रूपचन्द्रको मूर्तिको अनावरण माओवादी अध्यक्ष प्रचण्डका करकमलबाट भयो । यी विद्रोही नेतालाई 'मेरो एक्काइसौँ शताब्दीको जनवाद मूर्तिपूजासँग असमत छ' भन्ने वाक्य फुरेन । दृश्यमा देखेँ, रूपचन्द्रको मूर्ति अनावरण गरिने थलोमा 'महान् मार्कसवादी सौन्दर्य चिन्तक' भनीकन कहलिएका मोहन वैद्य किरण पनि हाजिर थिए । ती मूर्ति-भञ्जक रूपचन्द्रको मूर्ति स्थापना गरिने थलोमा फड्के किनाराको साक्षी बसेको दृश्य मलाई बडो हास्यास्पद लाग्यो । तिनको सौन्दर्यशास्त्रमा मूर्ति-भञ्जन र मूर्तिपूजाबीच कुनै भेद नै पो नभएको हो कि ?
थाहा छ, 'जनमुखी' 'थाहा आन्दोलन'मा 'नारी, किसान, कलिला'हरूलाई खुबै सम्मानका नजरले हेरिन्थ्यो । तिनको जागरण, तिनको मुक्ति र तिनको सुख नै यो आन्दोलनको एकमात्र अभीष्ट थियो । रूपचन्द्रको मूर्तिको अनावरण कुनै बालिकाको कलिलो हातबाट भएको भए 'थाहा'कर्मीहरूले कमसेकम रूपचन्द्रको आदर्शलाई बिर्सेका रहेनछन् भनेर चित्त बुझाउने एउटा लुरे उपाय त हुन्थ्यो कि ! तर, 'नारी, किसान, कलिला'हरूलाई भुसुक्कै बिर्सेर प्रचण्डको भेषमा तिनले शक्तिको मुख ताके ।
अनर्थ गरियो ! मूर्ति-भञ्जक रूपचन्द्र विष्टको आदर्शलाई उनैको मूर्तिमा गिराएर गर्नु/नगर्नु उपहास गरियो !
---
साभार -
2009-06-23,मंगलबार (नयाँ पत्रिका)
खगेन्द्र संग्रौला
Comments on this article
Recent Tweets |
Author Information
Khagendra Sangraula
More Articles from same author
Mero Jindagi Mero Biswas (This I believe)
अवसरको सही उपयोग »
म अवसरको सही उपयोगमा विश्वास गर्छु । तर अवसरको खोजी नै मेरो जीवनको पहिलो चुनौती थियो । मेरा बाजे/बराजुदेखि बुबासम्म मालिकको घरमा कमैया थिए । हाम्रो आफ्नो भन्ने केही थिएन । बस्ने, खाने सबै मालिककै घरमा हुन्थ्यो । मालिकका छोराछोरीहरू स्कुल जान्थे । मलाई पनि उनीहरूझैं विद्यालय जान मनलाग्थ्यो । तर म दैनिक गोठालो जानुपथ्र्यो । राति अबेरसम्म अनि बिहान चाँडै उठेर कामै गर्नुपर्थ्यो । राम्रो लगाउने, मीठो खाने र खेल्ने रहर पनि हुन्थ्यो नै, तर पाइँदैनथ्यो । हुर्किंदै जाँदा आफ्ना पितापुर्खाको आर्जनसँग दिक्दारी पैदा हुन थाल्यो । म मुक्तिको बाटो खोज्न थालेँ । कोरा परिश्रम...
Apr 01 2009 / 680 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

