CURRENT ARTICLE


रंगमञ्चकी राजकुमारी

प्रसंग विसं. २०३९ सालको हो । निशा बद्री अधिकारीको नाटक 'प्रतिभा आकाश माग्छे' बाट रंगमञ्चको संसारमा औपचारिक रूपमा प्रवेश भएकी थिइन् ।
त्यस वेला सायद उनका सपना केही थिएनन् । भए पनि कुइरोमा हराउँदै र प्रकट हुँदै गरेको पहाडको कुनै चुचुरोजस्तो अस्पष्ट थिए । यही अस्पष्ट सपनासँगै उनले रंगमञ्चमा हाम्फलेकी थिइन् । त्यति वेला त रंगमञ्चको सपना नै थिएन नै उनको निदरीमा । उनी आफ्ना अभिनेत्री दिदीहरू सूर्यमाला र चन्द्रमाला शर्माको सपनालाई पछ्याउँदै अभिनेत्री भएकी थिइन् । र, रंगकर्मी सुनील पोखरेलको सपनामा हेलिँदै नाटकको सरोवरमा ख्यालख्यालमै ढुंगो हान्न पुगेकी थिइन् ।

यस अर्थमा निशाले त्यस दिन भनेका वाक्यहरू शतप्रतिशत सत्य हुन् । उनी सपनै नदेखी रंगमञ्चमा लागिन् । अर्थात् अरूहरूका सपनामाथि चढेर अभिनयमा लागिन् । तर, आज त्यसपछिको लामो कालखण्ड पार गरेर यस मोडमा उभिएरभन्दा उनी धेरैका सपनाहरूको प्रेरणा भएकी छन् । रंगमञ्चमा उनले आज जुन स्थान बनाएकी छन्, त्यहीँबाट आज कयौँ किशोर-किशोरीका सपनाहरू फक्रिन थालेका छन् । निशाको अभिनय शिल्पीबाट सम्मोहित भएर पछिल्लो पुस्ताका किशोरीहरू उनको अनुकरण गर्दै रंगमञ्चको जस्केलो टेक्ने सपना देख्छन् भने यो गलत होइन । उनका नाटकहरू हेरेर हलबाट निस्किँदा महिला दर्शकहरू आफ्ना दिमागमा एउटा समान 'ह्याङ्ओभर' बोकेर बाहिरिन्छन्, आफू पनि निशा शर्मा भएको । आजका पुस्ताका रंगकर्मीहरूका लागि मात्र होइन, उनैका समकालीन र उनीभन्दा अघिल्ला रंगपुस्ताकाहरूका लागि समेत निशा एउटा आहरिस लाग्ने अभिनेत्री भएकी छन् ।

अभिनयको गहिराइमा पुगेर सधैं निशाको मृत्यु हुन्छ र त्यस ठाउँमा उनले बोकेको चरित्र ज्यूँदो भएर उठ्छ । 'पुतलीको घर' को अन्तिम दृश्यमा घर छाडेर एक्ली भएकी र गन्तव्यहीन मोडमा उभिएकी 'नोरा' सँग दर्शकले निशालाई भुलेर अनुभूति बाँडे र सहानुभूति प्रकट गरे । उनीहरू आफ्नो अनुभूतिको बेँसीमा बसेको नोरालाई मात्र सम्भिन्छन् । र, उनलाई सहारा दिन अनेकौं हातहरू पसारिन्छन् । कयौं महिलादर्शकका आँखाबाट अविरल इन्द्रवती बगिरहन्छ । यो त एउटा 'डल्स हाउस' को सानो उदाहरण मात्र हो । निशाले आफ्नो अभिनयमा देखाएको कला-कौशलले हरेक नाटकलाई जीवन दिएको छ । नाटकमा आफूले निर्वाह गरेका हरेक पात्रलाई उनले सास हालेकी छन् । सायद, आज जन्मेकी भए निशाले अभिनयमा यो जीवन्तता खन्याउन सक्ने थिइनन् ।

त्यसैले त्यस दिन उदास भएर 'म समयभन्दा अघि जन्मेछु' भन्ने दुःखेसो गर्ने निशा आज धेरैका सपनाकी राजकुमारी भएकी छन् । धेरै रंगकर्मीका लागि अभिनयको चुनौती भएकी छन् । समयभन्दा अघि जन्मेर होइन, समयको उपयुक्त लगनमा जन्मेर उनले नेपाली रंगमञ्चको ढाँचा बदल्ने क्रमलाई डोर्‍याउने काम गरेकी छन् । र, निशा कुनै नाटककी पात्रा मात्र होइन, समग्र रंगमञ्चकै परिवर्तन र परिष्कार गर्ने भूमिकामा समेत एक ऐतिहासिक पात्र भएकी छन् ।

अढाइ दशकअघि छुटेको समयलाई क्रमबद्ध रूपमा स्मरण गर्दै आउने हो भने निशा शर्माको उमेरमा जस्तै नेपाली रंगमञ्चमा पनि परिपक्वता घना हुँदै आएको अनुभव हुन्छ । र, यी दुवैको गतिसँगै स्वयं निशाको अभिनय पनि परिस्कृत हुँदै आएको छ । 'प्रतिभा आकाश माग्छे' की चुलबुले निशा र 'पुतलीको घर' की चुलबुले नोराको अभिनय-चञ्चलताबीच धर्ती-आकाशको अन्तर छ । दुवैको अभिनयमा चञ्चलता छ तर पहिलोमा देखिएको निर्दोषता र स्वच्छन्दता तथा पछिल्लोमा देखिएको गम्भीरताबीच धर्ती-आकाशको पृथकता छ । र, यही कुरालाई गहिराइबाट मूल्यांकन गर्ने हो भने पनि निशाको अभिनय क्रमको पृथकतालाई अनुभूत गर्न सकिन्छ । संयोगले यी दुवै नाटकमा निशाले रोमाञ्च र वियोगलाई आफ्नो अभिनयकलाले अभिव्यक्त गरेकी छन् । पहिलोको गाम्भीर्यमा उनीमा भूमिकाअनुरूप कुमारीपन थियो भने पछिल्लोमा प्रौढता । यसरी यी २४ वर्षको एउटा युगमा निशा शर्माले उमेर सँगसँगै आफ्नो अभिनयको बान्की र पूर्णतालाई पनि समेट्दै आएकी छन् । त्यति वेला दिदीहरू र सुनीलको किनारमा बसेर सरोवरमा ढुंगो हान्ने ती किशोरी आज रंगमञ्चको ज्वारभाटाहरूसँग हेलिन पोख्त भइसकेकी छन् ।

हुन त निशाले पनि रंगमञ्चमा उनले निर्वाह गरेका पात्रहरूको जस्तै आरोह-अवरोह झेल्दै आएकी छन् । वेलावेला थाम्नै नसक्ने आँधीहुरीको सामना गर्नुपर्दा उनी आफ्नो यात्रामा पटकपटक विचलित भएकी छन्, ठाउँ-ठाउँमा धर्खरिएकी छन् । र, बीचमा दुई वर्ष यस क्षेत्रबाट अन्तध्र्यान नै भइन् पनि । रंगमञ्चले उनका सपना त साटिदिएन साटिदिएन, दुई छाकको गर्जो पनि टार्न नसक्ने तन्नम भयो । त्यही वेला जीवनसाथी सुनील पोखरेल सिकिस्त बिरामी परे । निशाको सिंगो एक वर्ष अहोरात्र उनकै हेरचाहमा बित्यो । 'मलाई त्यस वेला रंगमञ्च भनेको रहर पूरा गर्ने साधन मात्र रहेछ भन्ने लाग्यो । म यसबाट जीवन र जीविका नचल्ने रहेछ भन्ने निर्णयमा पुगेँ'- निशा त्यस वेलाको दुःसाध्य प्रतिकूलताको स्मरण गर्न पुग्छिन् । भन्छिन्, 'सुनील बिरामी, कमाइधमाइको कुनै माध्यम थिएन । नाटकमा पसिना बगाउँदा बगाउँदा कमाएको पैसाले जोडेको एक चपरी जग्गा र गरगहना पनि बेचेर सडक बालबालिकामा लगानी गर्‍यौँ । तर, आरोप लगाउनेहरू त्यति गर्दा पनि थाकेनन् । हामीले अरूअरूलाई प्रयोग गरेर टन्न पैसा कमायौँ भने ।'

प्रत्येक प्रतिकूलताले लखेटपछि एकपटकचाहिँ निशालाई लाग्यो- उनका लागि यो क्षेत्र उपयुक्त रहेनछ । अनि, निर्णय पनि गरिन्, 'अब म आफ्नो समाज, साथीभाइ र रंगमञ्चलाई चटक्क छाडेर दिदी सूर्यमाला गएकै अमेरिका जान्छु ।' उनले सुर कसिन् पनि । त्यसका लागि कागजपत्रहरू संलग्न गरेर दिदीलाई पठाइन् । कुरा निकै अगाडि बढिसकेको थियो । तर, सुनीलले रोके । उनी रंगमञ्चको मातमा यति लग्गू भइसकेका थिए, यति चाँडै यो अम्मल छाड्न सक्ने अवस्थामा थिएनन् । उनले भने, 'मलाई खालि एकपटकका लागि, अन्तिम मौका देऊ । दुई वर्षमा पनि केही भएन भने तिम्रो कुनै पनि प्रस्तावलाई म आँखा चिम्लेर स्वीकार गर्नेछु,' उनले सोचिन्, 'यत्तिका वर्ष त साथ दिएँ, भने जाबो दुई वर्ष दिनुमा के आपत्ति ?' उनले फेरि आफूलाई सुनीलको आग्रहमा समर्पित गरिन् र पूर्ववत् त्यही रंगमञ्चको खहरेमा हाम्फालिन् ।

वास्तवमा मानिसको जीवनमा दुःख-सुख भन्ने वस्तु नपुग्ने पेसा कुन पो बाँकी रहेछ र ? उनी यस सत्यसँग विस्तारै साक्षात्कार हुँदै गइन् । साहित्य लेख्नेहरूका निद्रामा पनि कहाँ आनन्द पस्न सकेको थियो । चित्रकारका चित्रहरूमा पनि पीडा पोखिएकै देखिन् उनले । सिनेमा खेल्ने आफ्ना समकालीनहरूका सिरानीमा पनि कहाँ कोलम सपनाहरू आइरहेका थिए र ? सबैका दुःखका नजिक पुग्दै गएपछि उनका लाग्यो, दुःख सर्वत्र रहेछ । बुद्धले भनेझैँ खालि यसको कारण पहिल्याएर निदान खोज्नुपर्छ । अनि, उनी आफ्नो मात्र होइन समग्र रंगकर्मकै दुःख पत्ता लगाउन र त्यसको उपचार गर्न दिलोज्यानले लागिन् ।

सम्भवतः निशा र सुनीलको दुःखको यही निदान खोज्न पनि जन्मेको हो 'गुरुकुल' । 'आरोहण' को भगिनी संस्थाको रूपमा सुनीलको मानससन्तान गुरुकुलको जायजन्मपछि पनि निशाका मनमा अनेकौं आशंकाहरू अंकुरित नभएका होइनन् । विगत दुई दशकदेखि सुन्दर सपनाहरूको खरिदारीमा अनेकौं बल्ड्याङ खाएर थिलथिलो भएका विपनाहरू गुरुकुललाई अवतारै मान्न पनि त सक्तैनथे । आखिर अतीतले यस्ता कयौं उपाय र उद्योगलाई छिर्के लगाएको अनुभव उनीसँग ताजै थियो । त्यसैले यसको परिकल्पनाको बुट्टा बुन्दा निशालाई 'बनारसको लड्डु' जस्तो मात्र लागेको थियो । तर, विषमता र प्रतिकूलताहरूले जति नै तगाराहरू तेस्र्याए पनि यो वनारसी लड्डु चाख्ने लोभमा उनी फेरि रंगमञ्चमै पसिन् । निशा भन्छिन्, 'सुख-दुःख जे भए पनि हाम्रो आफ्नो ठाउँ त यही रहेछ भन्ने मलाई बोध भयो । अब म यसैमा समर्पित छु । सायद जीवनका अन्तिम दिनसम्म पनि म यसैको अनुरागमा यसरी नै रापिएकी हुनेछ ।' सायद निशाले गोधूलिको त्यस रिमरिमेमा पाइलो राख्दा उनी र उनको रंगयात्रा एकाकार भएर सम्पूरक भइसकेका हुनेछन् ।

निशाको अहिलेसम्मको अभिनय-यात्राको संक्षिप्त बेलीबिस्तार लगाउने हो भने बीचबीचमा उनको यात्रा अवरुद्ध भएको छ । आरोहणसँग गाँसिएपछि उनको रंगकर्मले बिस्तारै बाटो पहिल्याउँदै थियो, के रहेछ रङ्गमञ्च ? त्यसको स्वाद चखाउँदै थियो । र, सुनील छात्रवृत्ति पाएर दिल्ली जानुअघि नै उनलाई नेपाली रंगमञ्चले एक सम्भावना भएकी अभिनेत्रीका रूपमा वरण गरिसकेको थियो । तर, सुनील दिल्ली लागेपछि 'आरोहण' र उनको रंगकर्म पनि अवरुद्ध भयो । अनि उनको ध्यान नाटकबाट हाम्फालेर टेलिचलचित्रमा टेक्न पुग्यो । उनलाई अहिले पनि के लाग्छ भने सुनील दिल्लीबाट समयमै नफर्केका भए सायद उनी चलचित्रतिर नै स्थापित हुन पुग्थिन् । उनले केही साना पर्दाका सिनेमाहरूमा आफ्नो अभिनयको जग बसाइसकेकी थिइन् । तर, सुनील उताबाट फर्केपछि त्यताका सम्भावनाका ढोकामा भोटेताल्चा ठोकेर उनी फेरि रंगमञ्चको पुरानै छाप्रोभित्र छिरिन् ।

नठाँटी भन्ने हो भने, नाटक र टेलिशृंखलाहरूले गर्दा नै निशालाई पढाइमा निरन्तर लाग्न दिएन । किशोरीवयमै अतिरिक्त गतिविधिमा लाग्यो भने हाम्रोजस्ता अव्यावहारिक शिक्षा भएको मुलुकमा पढाइ गोलखाडी जाँदो रहेछ । निशालाई यस्तै अनुभव छ । त्यस वेला निशालाई पढाइको खाँचो थियो, तर नाटकलाई निशाको । निशाबीच पढाइ र अभिनयलाई लिएर लामो अन्तर्द्वन्द्व चल्यो । आखिर जित भयो, रंगमञ्चको । पढाइले हार खायो । अनि, उनी किताबकापी खोपामा थन्क्याएर पूर्णकालीन रंगकर्मी हुन पुगिन् ।

यत्तिकैमा सुनील पोखरेलसँग उनको विवाह भयो, २०४७ सालमा । कुरा २०४५ सालको हो । त्यसताका फ्रान्सेली सांस्कृतिक केन्द्र, बागबजारमा 'आरोहण शनिबार' शृंखला तापमान गतिमा थियो । 'स्काँपाको दाउपेच' का कारण रवि शाह, भीमवरसिंह थापाजस्ता पाका अभिनेताहरू आरोहणमा आवद्ध हुन पुगेका थिए । यस नाटकले सुनीललाई सर्वत्र प्रशंसित बनाएको थियो । उनको सीप र सरलताले त्यस केन्द्रका निर्देशक झँ रोम्नी सियानो र सहायक निर्देशक कल्पना घिमिरे पनि नतमस्तक भएका थिए । त्यसताका नेपाल भर्खरै टेलिभिजनको युगमा छिरेको थियो । उनीहरूले मञ्चबाट निस्केर काँचका पर्दाहरूमा पस्ने रहर गरे । अनि, उनीहरूले सुनीललाई एउटा फ्रान्सेली नाटकलाई नेपालीमा अनुवाद गरेर भिडियो फिल्म बनाउने प्रस्ताव गरे । सुनीलले यस प्रस्तावलाई सहर्ष स्वीकारे । कल्पना घिमिरेले नाटकलाई नेपालीमा अनुवाद गरिन् । नाम राखियो, 'मान्छे ताक्छ मुढो' । निशा र सुनीलको विवाहको संरचना यसै कालमा बुनिएको हो ।

निशाको भनाइमा उनी सानैदेखि सुनीलसँग झ्यामिने भए पनि त्यसले कुनै नाताको नाम पाएको थिएन । उनको मनको आँखीझ्याले यस कोणबाट कुनै घडी चिहाएको पनि थिएन । तर, त्यही भिडियो फिल्मको काम भइरहँदाका क्षणहरूमा रवि शाहका अनुभवी आखाँहरूले सुनील-निशाबीचको निकटताभित्र एउटा साइनो अंकुरित हुँदै गरेको छनक पाए । 'मैले सुनीललाई कहिल्यै पनि त्यस आँखाले हेरको थिइन,' निशा भन्छिन्, 'हाम्राबारेका यस्ता गाइँगुइँ सुनेपछि मलाई पहिलोपल्ट लाग्यो, म थाहै नपाई बालकलाकारबाट एउटी तरुणीमा रूपान्तरित भइसकेछु । तर, मेरो मनकै कुरा भन्ने हो भने आजका मितिमा पनि मलाई आफू त्यही अमर आदर्श विद्यालयमा पढ्ने त्यही फुच्ची निशा हुँ जस्तो लाग्छ ।'

(हालै प्रकाशित घिमिरे कोपुस्तक एक दर्जन एकबाट साभार ।')


Comments on this article

No comments has been made yet

Fullname
Email Address
URL -    http://
Comment Title
Comment Body



Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password

Author Information

Raman Ghimire
Raman Ghimire

Article Stats


Article Reads2243
Article Rating 4

More Articles from same author

No more articles from the user


Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

विद्यार्थीलाई खुसी पार्नु मेरो धर्म »

this-i-believe-विद्यार्थीलाई खुसी पार्नु मेरो धर्म

जिन्दगीका ३८ हिउँद-वर्षा मैले शिक्षण पेसामा बिताएँ । यो पेसामा कसैको चाकरी गर्नु पर्दैन, कसैसँग सम्झौता गर्नु पर्दैन, त्यसैले मैले यो पेसा रोजेँ । यो पेसाले मलाई सधैं स्वतन्त्र रहन दियो । एउटा शिक्षकका रूपमा मैले कहिल्यै पनि स्वविवेक र अन्तरआत्माको आवाजलाई बेवास्ता गर्न र सत्यको साथ छाड्नुपरेन । त्रि-चन्द्र कलेज, नेपाल कमर्स क्याम्पस, शंकरदेवदेखि लिएर काठमाडौं विश्वविद्यालयको एउटा सेमेस्टर र हाल कलेज अफ अप्लाइड बिजनेससम्म आइपुग्दा मैले २०/२२ हजार विद्यार्थीलाई पढाए हुँला । मेरा विद्यार्थीका लागि म कहिले अभिभावक बनेँ, कहिले साथी, कहिले पथप्रदर्शक त कहिले...

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 10 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.40 75.00
European euro 1 95.38 96.15
UK pound sterling 1 114.78 115.70
Swiss franc 1 73.34 73.93
Australian dollar 1 67.58 68.13
Canadian dollar 1 70.60 71.17
Singapore dollar 1 55.20 55.64
Japanese yen 10 8.82 8.90
Chinese renminbi (Yuan) 1 10.94 11.03
Saudi Arabian riyal1 19.84 20.00
Qatari riyal1 20.44 20.60
Thai baht1 2.39 2.41
UAE Dirham1 20.25 20.42
Malaysian ringgit1 23.83 24.02
South Korean Won 1006.336.38
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.25
Danish Krone 1 12.81
Hong Kong dollar 1 9.57
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 3 Users online [ Visits including robots - 909414 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark