CURRENT ARTICLE


कारवाहीमा डा. बाबुराम हाम्रो भागमा खसी र जेरी

विश्वदीप पाण्डे- २४, बाबुराम भट्टराईका निजी सहायक । विश्वदीपले माओवादी-सरकार वार्ता र असहमति पटक-पटक कम्प्युटरमा टाइप गरेका छन् । बाबुरामको दिल्ली-बसाइदेखि रोल्पामा गरिएको कारबाहीसम्मका साक्षी हुन्, उनी । दिल्ली-बसाइमा बाबुरामसँग रुममेट भएर बसेका विश्वदीपले यसरी ती दिन सम्झिए :-


६० साल चैत महिना, जाडो भर्खर सकिएर घाम चर्किन सुरु भएको थियो । सरकार र माओवादीबीचको युद्ध सेलाएको थियो युद्धविरामले । राजनीति भने तातेको थियो सरकारसँगको वार्ताले । गोरखपुरमा भूमिगत हुनुभएका मेरा बुबा भक्ति पाण्डे अचानक बुटवल आउनुभयो । युद्धविराम भए पनि घरमा जानु खतरायुक्त नै थियो । त्यसैले बुटवल इँट्टाभट्टास्थित गणेश ढकालको घरमा बोलाउनुभयो । उहाँले मलाई लामो समयका लागि कतै जानुपर्ने बताउनुभयो । तर, ठाउँ भने बताउनुभएन । उहाँले भन्नुभयो- "भाग्यमानी रैछस् महत्त्वपूर्ण ठाउँमा जाँदै छस् । तँलाई दिएको काममा सफल हुनू !"


म त्यतिवेला एसएलसी दिएर बसेको थिएँ । त्यो काम के होला भन्ने उत्सुकता मेरो मनमा आइरह्यो । बाबुसँग प्रश्न गर्ने हिम्मत पनि थिएन मसँग । प्रश्न मनमै बोकेर बुबासँगै गोरखपुर हुँदै लखनउ पुगँ म ।


लखनउ रेल्वेस्टेसनमा मैले थाहा पाएँ मलाई बाबुराम भट्टराईको सहयोगीका रूपमा लगिँदै छ । भर्खर माओवादीमा प्रवेश गरेको मजस्तो आलोकाँचोलाई दिएको त्यति ठूलो जिम्मेवारीले मेरो मन 'चङ्गा' भयो ।
रेल्वेस्टेसनबाट १५ मिनेटको टेम्पोयात्रापछि तीनतले घरमा मलाई लगियो । त्यहाँ चारजना थिए, दुई महिला दुई पुरुष । बाबुराम र लेखराजलाई पहिल्यै चिन्थँे म । अपरिचित दुई महिलामध्ये एउटी हिसिला यमी र अर्की लेखराज भट्टकी श्रीमती रहिछन् । बुबाले चिनाएपछि थाहा पाएँ । त्यस दिन बाबुराम सर वार्ताका लागि नेपाल जाँदै हुनुहुन्थ्यो । हिँड्ने वेलामा भन्नुभयो- "कमरेड ! हिसिलासँग दिल्ली जानुस् । बाँचिएछ भने र्फकेर आइन्छ ।" त्यो सुनेर मेरो मुटु काँप्यो ।


त्यसको भोलिपल्ट म र हिसिला म्याडम दिल्ली हिँड्यौँ । बाबुराम सरलाई जवान, राजनीतिमा रुचि राख्ने, अनुशासित सहयोगी चाहिएको रहेछ । गोपनीयता, अध्ययनशीलता, कम खर्चालु र साधारण जीवनशैली त्यसका अरु "क्राइटेरिया" रहेछन् । मलाई बुबाले भनिसक्नुभएको थियो । पछि हिसिला यमीबाट पनि थाहा पाएँ । त्यसमा म जसरी पनि "पास" हुनु'थ्यो । फेल भए सिधै घरफिर्ती ।


दिल्ली रोहिणी सेक्टर- १५ मा चारतले घर थियो । घर गुलाबी रङको थियो । दिल्ली पुगेको भोलिपल्ट हिसिला म्याडमले दिल्ली घुमाउन लैजानुभयो । त्यस दिन दुई जोर लुगा किनेँ मैले । त्यसबेला एकैपटक दुई जोर लुगा किन्नु निकै ठूलो कुरा थियो ।


मलाई दिल्लीबारे धेरै जान्नु थियो । त्यसैले धेरै दिन एक्लै हिँडँ म । गल्ली चहारँ । रेलको टिकट काट्न सिकँ । विनालक्ष्य पब्लिक/प्राइभेट बसमा चढँ । बस नचिन्दा जरिवानासमेत तिर्नुपर्‍यो मैले । प्राइभेटजस्तो लागेर चढेको पब्लिक रै'छ । टिकट नकाटेकाले एक सय रुपैयाँ जरिवाना तिर्नुपर्‍यो । जरिवानाभन्दा त्यहाँ भारतीयको बोली रुखो लाग्यो मलाई ।


मेरो मुख्य काम बाबुराम सरका लागि नेपाली पत्रपत्रिका ल्याउनु, आर्टिकल टाइप गर्नु र उहाँलाई चाहिएको सामान खरिद गरेर ल्याउनु थियो । मैले स्कुलमा कम्प्युटर सिकेको थिएँ । इन्टरनेट आउँदैनथ्यो । त्यो मलाई हिसिला म्याडमले सिकाउनुभयो । इन्टरनेट हामी बसेको घरमा नभएकाले त्यहाँबाट १० किलोमिटर पर गएर ल्याउनुपथ्र्यो । मैले त्यो सब बाबुराम सर नआउँदै सिकँ । नेपालमा सरकारसँगको वार्ता असफल भएछ । बाबुराम सर इलाहाबाद आउनुभयो भन्ने खबर पाएँ मैले, मलाई त्यतै जानुपर्ने भयो । इलाहाबादमा शर्माजीको घर थियो । इलाहाबाद जाँदा हामी प्रायः त्यहीँ बस्थ्यौँ । त्यहाँ दुई दिन बसेर हामी दिल्ली फर्कियाँ ।


इलाहाबाद पुग्दा बाबुराम सर चिन्तित अवस्थामा हुनुहुन्थ्यो । वार्ता असफल भएको थियो । दुई दिन बसेर हामी दिल्ली फर्कियौँ ।


दिल्ली पुगेको भोलिपल्ट कसैले ढोका ढक्ढकायो । म ढोका खोल्न गएँ । छिर्केमिर्के जुँगा फुलेको अधबैँसे मानिस ढोकाबाहिर थिए । ती मानिसलाई चिनेजस्तो, देखेजस्तो लाग्यो मलाई । तर, ठ्याक्कै ठम्याउन सकिनँ । ती मानिसले मसँग सोधे- "तिमी भक्तिका छोरा होइनौ ?" मलाई चिनेको देखेर अचम्म लाग्यो । उनी सरासर बाबुराम सरको कोठामा गए । बाबुराम सरको कोठाबाट केही बेरमा ती बाहिरिए । हिसिला म्याडमले सोध्नुभयो, चिन्यौ ?""अहँ", मैले अन्योलपूर्ण मुद्रामा जवाफ दिएँ ।


"प्रचण्ड", जवाफ अनपेक्षित थियो । म जिल्ल परेँ । जनयुद्धका नायक मेरा अगाडि आएर गए, तर मैले थाहै पाइनँ । उहाँ गएको केही बेरमै बाबुराम सरले एउटा पेपर टाइप गर्न लगाउनुभयो । त्यसमा सरकारसँग वार्ता असफल भएको र युद्धविराम भंग गरिएको लेखिएको थियो । मैले टाइप गरेँ र साइबर गएर नेपाल र नेपालबाहिर चलेका सबै पत्रपत्रिकालाई "मेल" गरेँ । "मेल" गर्दा हामीले फरक-फरक "आइडीबाट" पठाउँथ्यौँ । भोलिपल्ट इन्डिया टाइम्सले बाबुराम सरको फोटोसहित युद्धविराम भंग भएको समाचार छाप्यो । तैपनि, त्यस घरभेटीले बाबुराम सरलाई चिनेन । मलाई घरभेटीको "मोटो नजर" देखेर अचम्म लाग्यो ।


बिहान कालो चिया, आठ बजेतिर सुक्खा रोटी र सब्जी खाने बानी थियो बाबुराम सरको । एक बजे खाना खानुहुन्थ्यो । त्यो सबै हिसिला म्याडमले तयार गर्नुहुन्थ्यो । बाबुरामले बेलुका पनि रोटी खानुहुन्थ्यो । जम्मा दुइटा, न कम, न बढी । उहाँ फोन गर्नुपर्दा बाहिर निस्कनुहुन्थ्यो । सरसँग मोबाइल त थियो, तर सुरक्षाका कारण त्यो मोबाइल सबैलाई दिनु ठीक थिएन । त्यो नम्बर पनि तीन/चारजना उच्च नेतासँग मात्रै हुन्थ्यो । उहाँ बाहिर जाँदा जहिले पनि पब्लिक बसमा जानुहुन्थ्यो । अटो या ट्याक्सी प्रयोग गर्नुहुन्नथ्यो, खर्च जोगाउन ।


हिसिला म्याडम सँगै हुँदा मलाई धेरै सजिलो हुन्थ्यो । तर, उहाँ पार्टीको कामका लागि बाहिर गइरहनुहुन्थ्यो। एकपटक म्याडम दुई महिनासम्म दिल्ली आउनुभएन। म बिहान सरलाई खाना खुवाएर पत्रिका लिन साइबर जान्थेँ । जान-आउन दुई घन्टाभन्दा बढी लाग्थ्यो । त्यस समयमा सरले घरका सबै भाँडा माझेर राख्नुहुन्थ्यो । त्यो दुई महिना काट्न मलाई धेरै गाह्रो भयो । हिसिला म्याडम हुँदा खाना खाँदा र अरु बेला पनि बोलिरहनुहुन्थ्यो । बाबुराम सर भने निकै कम बोल्ने । उहाँलाई किताब भएपछि पुग्ने । उहाँ सुत्ने कोठाभरि किताब थिए । उहाँ बेलुकीपख मात्र छतमा निस्कनुहुन्थ्यो । मलाई त्यतिवेला बोल्ने मान्छे नभएर ऐना हेरेर आफैंसँग कुरा गरौँ जस्तो हुन्थ्यो । त्यतिवेला मलाई 'नेपाल पुग्न पाए माटो खान्थेँ' जस्तो भयो ।


त्यहाँको सात महिनाजतिको बसाइपछि हामी सुरक्षाका लागि नोयडा सर्‍यौँ । त्यो पहिलाको घरभन्दा व्यवस्थित थियो । सबै सामान त्यही प्लानिङमा पाइन्थ्यो । नेपालीको मःम-पसल पनि थियो त्यहाँ । त्यसैले मलाई अलि रमाइलो लाग्यो । एकदिन म सब्जी किन्न जाँदा मःम खान गएँ । प्रचण्डपुत्र प्रकाश पनि त्यहीँ मःम खाँदै हुनुहुँदो रै'छ । मलाई देखेर उहाँ लुक्नुभएछ, "नेपालीमा कुरा गर्छ र पोल खुल्छ" भन्ने डरले । मलाई उहाँले पछि भन्नुभयो ।


बाबुराम सरसँग मैले धेरै कुरा सिकेँ, विशेषतः कम्युनिस्ट राजनीतिका विषयमा । बाबुराम सरले मलाई पहिलोपटक पढ्न लेलिनको राज्यक्रान्ति र महान् बहस दिनुभयो । त्यो हिन्दीमा थियो । मैले पढेँ, तर बुझिनँ । तेस्रो पटकमा अलिकति बुझँ मैले । मैले त्यस समयमा राजनीतिका धेरै खेलबारे थाहा पाएँ ।


२०६२ भदौतिर इलाहाबादमा बस्दा म नराम्ररी बिरामी भएँ । मलाई जन्डिस र ज्वरो एकैपटक आयो । त्यतिवेला हिसिला म्याडम पनि कामको सिलसिलामा बाहिर हुनुहुन्थ्यो । पूरै एक महिना बिरामी भएँ म । घरायसी कामदेखि मलाई स्याहार्ने सम्मका काम बाबुराम सरले गर्नुभयो त्यतिवेला । बाबुराम सरलाई रोटी खाने बानी थियो । तर, उहाँलाई रोटी पकाउन आउँदैनथ्यो । जन्डिस भएकाले मलाई केही खानै हुँदैनथ्यो । खायो कि बान्ता भइहाल्ने । उहाँ दालभात, सब्जी पकाउनुहुन्थ्यो । कहिलेकाहीँ त मलाई बनाएको जाउलोमै चित्त बुझाउनुभो । त्यहाँ घरमै इन्टरनेट थियो । त्यसैले समाचार लिन जानुपर्ने समस्या थिएन ।
मलाई बाबुराम सरसँग फोटो खिच्न खुब रहर लाग्थ्यो । तर, सुरक्षाका कारण उहाँ फोटो खिचाउन नमान्ने । बाबुराम सरलाई म आग्रह गरिहन्थँे । आजित भएर उहाँले बुबालाई फोन नै गर्नुभएछ- "उनी सधँ फोटो खिचौँ भन्छन् । तपाईंले सम्झाइदिनुपर्‍यो ।" त्यसपछि मैले फोटो खिच्न भनिनँ ।


०६१ सालमा बाबुराम सरसहित चारजनालाई भिन्न मत राखेका आधारमा पार्टीले कारबाही गर्‍यो । त्यो भिन्न मत चारबुँदे र १३ बुँदे मैले नै अध्यक्ष प्रचण्डलाई दिएको थिएँ । म त्यतिवेला रोल्पा खरिबोटमा थिएँ । थवाङमा बैठक चलिरहेकाे थियो । माघ १८ गते एउटा छापामारले मलाई बाबुराम सरलाई कारबाही गरिएको सूचना रुँदै दिइन् । त्यो सुनेर म पनि रातभर रोएँ । भोलिपल्ट माघ १९ गते बाबुराम, दिनानाथ, हिसिला, देवेन्द्र पौडेल र मणि थापा खरिबोट आउनुभो । त्यही दिन राजाले "कू" गरेका थिए । तर, कारबाहीबाट बाबुराम सर भने दुःखी हुनुहुन्थेन । जनसेनाहरू दुःखी थिए । अरूलाई अलि खुसी बनाउन उहाँले खसी काट्न लगाउनुभयो । हामीले त्यस दिन जनसेनाले बनाएको जेरी पनि खायाँै । पछि, बाबुराम सरले आफूलाई कारबाही गरिएका विषयमा बताउनुभयो ।


त्यस रात म सुत्न सकिनँ, रोएँ पनि धेरै बेर । तर, राजाको "कू" सँगै प्रचण्डले बाबुराममाथिको कारबाही अनौपचारिक रूपमा फिर्ता लिइसक्नुभएको थियो । बाबुराम सरले आफूमाथि कारबाही भएकामा नेपालीमाझ गलत सूचना नजाओस भनी कारबाहीको कारण तीनबुँदे र १३ बुँदे भिन्न मत सुरक्षित गर्न मलाई दिनुभएको थियो । मैले एउटा फिल्मको क्यासेटमा रेकर्ड गरेर पठाएको पनि थिएँ । पछि, बाबुराम सर र अध्यक्ष प्रचण्डको कुरा मिल्यो । त्यसपछि सात पार्टीसँग वार्ता गर्ने जिम्मा बाबुराम सरलाई दिएर औपचारिक रूपमा अध्यक्ष प्रचण्डले दिल्ली पठाउनुभयो । हामी त्यस दिन १२ घन्टा हिँड्याँ ।


दिल्ली पुगेपछि बाबुराम सरले नेपालमा रहेका सात पार्टीका प्रमुख नेतासँग सम्पर्क बढाउनुभो । सिटौला, शेखर कोइरालाहरू दिल्ली आए र उनीहरूसँग वार्ता निरन्तर चलिरह्यो । कहिले फोनबाट त कहिले भेटेर नै । ०६२ जेठको अन्त्यमा गिरिजासँग भेटघाट गर्ने सहमति बन्यो र अध्यक्ष पनि रोल्पाबाट दिल्ली पुग्नुभयो । अनि, जेठको अन्त्यमा हरियाणाको गुडगाँव भन्ने ठाउँमा एकजना माओवादी समर्थक नेपालीका घरमा भेटघाटको आयोजना गरियो । त्यस भेटघाटमा कांग्रेसबाट गिरिजा, शेखर, सिटौला, एमालेबाट झलनाथ खनाल अनि माओवादीबाट अध्यक्ष प्रचण्ड, बाबुराम र महरा थिए । त्यस वार्तापछि माओवादीले तीन महिने युद्धविराम गर्‍यो ।


मंसिरमा १२ बुँदे सहमति गर्ने समयमा दिल्लीको खानपुरस्थित देवली गाउँको माओवादी समर्थकको चारतले घरको सबभन्दा माथिल्लो फ्ल्याटमा वार्ताका निम्ति ठाउँ तयार पारिएको थियो । प्रचण्ड, बाबुरामसहितको टोली वार्ता गर्ने स्थलमा पुगिसकेको थियो । पछि माधव नेपाल, केपी ओली, शेखर कोइराला, सिटौला र नारायणकाजी श्रेष्ठ पनि आउनुभयो । गिरिजा आउँदै हुनुहुन्थ्यो ।


सिटौला र शेखरलाई चौथो तलामा लगेपछि उहाँहरूले गिरिजा त्यति माथि जान नसक्ने, बोकेर लगे पनि बेहोस हुनसक्ने बताएपछि त्यो "वार्ता-स्पट" परिवर्तन गर्नुपर्‍यो । तत्काल एकतले घर मिलाइयो । त्यस दिनसम्म १२ बुँदेको मस्यौदामा पाँचपटक संशोधन भइसकेको थियो । त्यस दिन १२ बुँदेमा कमा र फुलस्टप पनि परिवर्तन नगर्ने सहमति बन्यो । त्यसपछि गिरिजा हिँड्नुभयो । अरू सबै नेता त्यहीँ थिए ।


ड्राफ्ट बनाइसकेपछि त्यस दिन मलाई बाबुराम सरले बेस्सरी हपार्नुभयो । भएछ के भने, ओली सरले बीचमा मसँग ड्राफ्ट मागेर लिनुभएको थियो । उहाँले थप्नुभएको रै'छ । मैले त्यो पनि टाइप गरेँ । ड्राफ्ट तयार भएपछि बाबुराम सरले मलाई गाली गर्नुभयो । त्यस दिन नखाएको विष मलाई लाग्यो। सबका अगाडि नराम्ररी गाली खाएँ मैले। पछि, त्यो काम ओली सरको हो भन्ने थाहा पाएपछि बल्ल सर मसँग हाँस्नुभयो। त्यस दिन प्रचण्ड र बाबुरामको अनुहारमा पहिले कहिल्यै नदेखेको हाँसो देखेँ ।


साभार:

नयाँ पत्रिका/२०६५ मंसिर ०२

प्रमिला देवकोटा



Comments on this article

No comments has been made yet

Fullname
Email Address
URL -    http://
Comment Title
Comment Body



Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password


Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

म सकारात्मक सोचमा विश्वास गर्छु »

this-i-believe-म सकारात्मक सोचमा विश्वास गर्छु

म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु । म कुनै चिज आफ्नै आँखाले मात्र होइन, अरूको आँखाबाट पनि हेर्न खोज्छु । अरूको आँखाबाट आफूलाई हेर्दा म देख्छु, मैले पनि धेरै गल्ती गरेको छु । आफूबाट भएका गल्ती महसुस गर्छु र सुधार्न खोज्छु । मैले पुराना गल्ती सुधारेँ भनेमात्र मलाई नयाँ काम गर्न सजिलो हुन्छ । हुन त काम गर्दा...

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 7 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.25 74.85
European euro 1 96.73 97.51
UK pound sterling 1 115.92 116.86
Swiss franc 1 70.49 71.06
Australian dollar 1 66.72 67.26
Canadian dollar 1 71.83 72.41
Singapore dollar 1 54.37 54.81
Japanese yen 10 8.50 8.57
Chinese renminbi (Yuan) 1 10.96 11.05
Saudi Arabian riyal1 19.80 19.96
Qatari riyal1 20.40 20.57
Thai baht1 2.30 2.32
UAE Dirham1 20.21 20.38
Malaysian ringgit1 23.28 23.46
South Korean Won 1006.266.31
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 12.98
Hong Kong dollar 1 9.56
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 4 Users online [ Visits including robots - 865607 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark