सीपले सहज बनाउँछ जिन्दगी
म सीपमा विश्वास गर्छु । किनकि सीपले सपना देख्ने आधार दिन्छ, नयाँ रहरहरू दिन्छ । सीपले आत्मनिर्भरतासागै स्वतन्त्रता पनि दिन्छ । सीप सिक्नु अगाडि मेरा कुनै सपनाहरू थिएनन् । न केही गर्न सक्ने अवस्था थियो, नत आँट । थियो त केवल गरिबीमात्रै, त्यो पनि विरासतको रूपमा । गरिब परिवारबाट गरिब परिवारमै विवाह गरेर आउँदा सम्पत्तिको नाउँमा थोरै जग्गा र त्यसमा बाँसका केही झाङ थिए । त्यो बेला मलाई अरूकोमा काम गर्नर् जान लाज लाग्थ्यो । तर भोको पेटले धेरै दिन घरभित्र लजाएर बसिरहन दिएन । म काम गर्न जान थालेँ । श्रीमान इँटा फयाक्ट्रीमा काम गर्नुहुन्थ्यो । म तीन किलो धानको
लागि दिनभरि साहूको खेतमा पसिना चुहाउथेँ । यो समस्या छोराछोरी भएपछि झन् बढ्दै गयो । त्यो बेला लाग्थ्यो, गरिबीको समस्याले यसरी नै जिन्दगीभर किचिरहन्छ ।
३१ वर्ष यसरी नै बितेपछि जीवनमा एउटा नयाँ मोड आयो । गोपीचन्द ठाकुरले हामीलाई बाँसको सिन्का बनाउने तालिम दिने योजना ल्याए । म सधैं साहूकोमा काम गर्ने मान्छे । बाँकी उमेर पनि यसरी नै काम गरेर खानेबाहेक अरू कुनै सोचाइ मनमा थिएन । यत्रो पसिना बगाउँदा त केही हुँदैन भने बाँसको सिन्का चिरेर के हुन्छ ? मलाई विश्वास लागेन । तर गोपीचन्द पटक-पटक आए । हाम्रो आफ्नै जग्गामा भएको बाँसको नयाँ किसिमले उपयोग गरे जीवन धान्न सजिलो हुने बताए । पत्याई-नपत्याइकन उहाँको करमा नयाँ काम गरेजस्तो गर्न थालेँ । तर जब काम गर्न थालेँ, तब लाग्यो सीपले साँच्चै दैनिक जीवनलाई सजिलो बनाउँदोरहेछ ।
मैले पाएको सीपले बाँसबाट अगरबत्तीलाई चाहिने सिन्का बनाउनमात्र सिकाएन, उपलब्ध स्रोतसाधनलाई नयाँ ढंगले प्रयोग गरेर आफ्नो दिनचर्या बदल्ने मौका पनि दियो । तीन केजी धानको लागि चर्को घाममा खटिने बाध्यताबाट मुक्ति त मिल्यो नै, उत्ति समय काम गर्दा तीन केजी धानको सट्टा चामलै किन्न सक्ने पैसा, त्यो पनि घरमै बसी-बसी कमाउन थालेँ । पैसा बचाएर अरू काम पनि गर्न सक्ने भएँ । आज म लगायत अरू पच्चीसजना छिमेकीहरू यही सीपबाट आयआर्जन गरी गुजारा चलाइरहेका छौं । यो काम गर्ने छिमेकीलाई सहयोग गर्ने जिम्मेवारी पनि मेरो काँधमा आएको छ । सिन्काको लागि आवश्यक बाँस खोज्ने । आफू र छिमेकीहरूले बनाएका सिन्का बजारमा लगेर बेच्ने । आएको रकम उनीहरूलाई बुझाइदिने काम ।
हुन त धेरैको आँखामा यो काम केही पनि होइन । तर तराईको टन्टलापुर घाममा पसिना पुछ्न पनि नपाई काम गर्नुपर्ने मलाई, स्वतन्त्रतापूर्वक यो काम गर्न पाउनु ठूलो उपलब्धि भएको यो सबै यही सिन्का चिर्ने सीपले दिएको हो ।
आज यही सीपले आयस्रोत दिलाएको कारण एउटी जिम्मेवार अभिभावक पनि बन्नसकेकी छु । पाँचजना छोराछोरीको लत्ताकपडा, खाना र पढाइ यसबाटै धानिएको छ । पहिलेकै अवस्था भए मजस्तै यिनीहरूले पनि कुनै साहूको खेतबारीमा काम गर्नुपथ्र्यो । स्कुल त कल्पनाभन्दा टाढाको कुरा हुन्थ्यो । तर यो सिन्का चिर्ने सीपकै कारण म छोराछोरीलाई उज्यालो भविष्यतिर डोर्याउन सफल भएकी छु ।
हिजो भैंसी पालेर दूध बेच्दा, बिहान १० देखि पाँच बजेसम्म खेतमा काम गर्दा पनि अभावै-अभाव हुन्थ्यो । घामपानी त पर छोडौँ, बिरामी हुँदा पनि आराम मिल्दैन थियो । तर आज हातमा सीप भएपछि काम गरिरहँदा पनि आरामै हुन्छ । कुनै पनि सीपको कुरा पहिले अनौठो लाग्न सक्छ । त्यो सीपको परिणाम नगन्य वा सानो लाग्न सक्छ । तर त्यही सीपमा जीवनलाई सरलता दिने शक्ति हुन्छ । थोरै-थोरै गरेर विस्तारै धेरै परिवर्तन दिने गुण हुन्छ । सीपमा मान्छेलाई आत्मनिर्भर बनाउने शक्ति हुन्छ । यो नै मेरो जीवनको विश्वास हो, मेरो भोगाइ हो ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।
Tags: Antenna Foundation, featured, This I believe