सहभागितामूलक उद्यमशीलता चाहिन्छ

म सहभागितामूलक उद्यमशीलतामा विश्वास गर्छु । यो उद्यम गर्न धेरै रकम चाहिँदैन । ठूलो योजना पनि बनाउनु पर्दैन । चाहिन्छ त केही गर्न खोज्ने चाहना र सहभागिता । यो काम मैले ०५९ सालमा चारजना साथीहरूसँग मिलेर सुरु गरेँ । पन्ध्र हजारका दरले उठाएको साठी हजार, दुई हजार र पच्चीस सय रुपैयाका दरले चियापसल, दूध र तरकारी व्यवसाय गर्न चाहनेलाई कर्जा दियौं । ऋण लिए पनि उनीहरू आसामी थिएनन् । हाम्रो उद्यमका सहकर्मीहरू थिए । त्यसैले ऋणसागै उनीहरूलाई परामर्श र सल्लाह दिइराख्यौं । यसले हाम्रो सामूहिक प्रयासलाई सफल बनाउँदै लग्यो ।

हाम्रो सामूहिक काम देखेपछि चन्द्रकान्त अधिकारी र श्रीकृष्णलाल कर्णले हेल्भेटास नेपालबाट साना व्यवसाय सञ्चालनको प्रशिक्षण लिन सल्लाह दिए । प्रशिक्षणले सहभागितामूलक उद्यमशीलताको लागि अझ नयाँ सोच र योजना बनाउन सिकायो । सुरुमा छिमेकीलाई ‘म तपाईंलाई व्यवसाय गर्न सहयोग गर्छु’ भन्दा पत्याउँदैनथे । तर आज हामी काम गर्नेहरूबीच दोहोरो विश्वास छ । उनीहरूको व्यवसायमा प्रत्यक्ष संलग्न भएर सरसल्लाह दिइरहादा उनीहरूको काम सफल भयो । यसले उनीहरूलाई फाइदा त भयो नै । त्यही साठी हजारले तीन वर्षभित्र १०३ जनालाई कर्जा दिन हामी सफल भयौं । यसले हाम्रो सहभागितामूलक उद्यमप्रतिको विश्वासलाई अझ उच्च बनायो ।

यो काम सुरु गर्दाका अन्य तीनजना साथीहरू अन्तै काम गर्छन् । म भने ‘साना व्यवसाय परामर्शदाता केन्द्र’ खोलेर उही काममा संलग्न छु । पहिलेको भन्दा उद्यमको स्वरूप फेरिए पनि यसको आकार बढ्दो छ । यसकै एउटा स्वरूप बिलौरियामा छ । त्यहाँका महिलाहरू समाज र परिवार दुवैबाट शोषित छन् । उनीहरूलाई ५०, ६० वर्ष नपुगी घरबाहिर स्वतन्त्रपूर्वक हिँड्नसमेत दिइँदैन । त्यसैले मैले उनीहरूलाई घरमै बसाएर उद्यममा सहभागी गराउने बाटो खोजेँ । त्यसनिम्ति अगरबत्ती बनाउने प्रशिक्षण दिएँ । आज उनीहरू घरमै अगरबत्ती बनाएर महिनामा पच्चीस सय, तीन हजार कमाउँछन् ।

सहभागितामूलक उद्यमशीलताले थोरै भए पनि सबैलाई फलिफाप गर्छ । यसकै अर्को उदाहरण हो, वीरगन्जका केही रिक्सा चालकहरूको उन्नति । उनीहरू वर्षौदेखि दैनिक भाडा तिरेर साहूको रिक्सा चलाउँथे । हामीले त्यही भाडा बराबरको दैनिक किस्ता तिरेर एक वर्षमा रिक्सा उनीहरूको हुने योजना ल्याऔं । उनीहरूमध्ये १० जनाले इमानदारीपूर्वक किस्ता तिरेर रिक्सा आफ्नो बनाई नै सके । साहूलाई तिर्नुपर्ने भाडा बचत गरेर त्यो रकम छोराछोरीको शिक्षा र स्वास्थ्यमा खर्च गर्छन् ।

यसले व्यक्तिको उल्लेखनीय विकास नहोला, तर हाम्रोजस्तो गरिब,अशिक्षित समाजमा सबभन्दा पहिले सहभागितामूलक उद्यमशीलताकै खाँचो छ । सहभागिता बनाउन सबै एकैठाउँमा आउनुपर्छ भन्ने छैन । सबै आ-आफैं ठाउँमा बसेर पनि काम गर्न सकिन्छ ।

आज यो उद्यमभित्र धेरै दलित, महिला र जनजाति आफैंले थोरै भए पनि केही गरेर स्वावलम्बी भएका छन् । उनीहरूलाई परामर्श दिन जाँदा पटक-पटक मुक्तिको खुसी सुनाउँछन् । छोराछोरीलाई स्कुल पठाउन सकेको खुसी पोख्छन् । त्यो बेला लाग्छ, मैले बुबा र दाइजस्तै सरकारी जागिर खाएको भए मेरो पाँचजना परिवारमात्र पाल्थेँ । तर आज एकाअर्कासाग मिलेर गरेको उद्यममार्फत परिवारसागै अरू २७ सयजनालाई पनि परिवार पाल्ने अवसर सिर्जना गर्नसकेको छु । यो सम्झेर म अझ धेरै ठाउँमा हातेमालो गरेर उद्यम गर्ने सोचमा छु । किनकि आयस्रोत नभएर अभावमा बाँच्नेहरू बिलौरिया र वीरगन्ज बजारमा मात्र छैनन् ।

अधिकांश मान्छे आफू एक्लै केही हुने सपना देख्छन् । विभिन्न योजना बनाएर ठूलो उपलब्धि हासिल गर्न खोज्छन् । तर हाम्रो गरिब र अशिक्षित समाजलाई व्यक्तिगत र ठूलो उपलब्धिको आवश्यकता छैन । सानो र सामूहिक उपलब्धिको खाँचो छ । यसको लागि एकमात्र उपाय हो, सहभागितामूलक उद्यमशीलता । यो नै मेरो जिन्दगीको प्रयास हो र विश्वास पनि ।

यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।

Tags: , ,

Leave a Reply


© Meronepalma.com