यात्राले पुर्याउँछ जीवनको नजिक
यात्राले पुर्याउँछ जीवनको नजिक
म यात्रामा विश्वास गर्छु, किनकि यसले अरू धेरैको जीवनसँग साक्षात्कार गराउँछ । यात्राले व्यक्तिलाई सही जीवनदर्शन दिन्छ । यात्रामा कहिल्यै नदेखेका र नभेटेका मान्छेसँग भेट हुन्छ । उनीहरूसँग सुखदुःख र अनुभव साट्ने मौका मिल्छ । यात्राको भोगाइ र सिकाइले आफू र परिवारभन्दा पर, समाजका लागि सोच्न सिकाउँछ ।
२०४६ सालमा भारतको आम्र्ड फोर्सेस मेडिकल कलेजबाट एमबीबीएसको अन्तिम वर्षमा पुगेर अचानक निकालिँदा म अत्ति नै विचलित भएँ । कलेजमा र्फकन धेरै प्रयास गरेँ, तर केही सीप चलेन । म नेपाल र्फकेँ । मेरो जीवनको लक्ष्य नै धुजाधुजा भएको लाग्थ्यो । एक वर्ष घरको बगैंचा गोड्ने क्रममा मैले मेरो जीवनलाई पछाडि फर्केर हेरेँ र आफ्ना गल्तीहरू महसुस गरेँ । पीडा भुल्न मैले ट्रेकिङ कम्पनी खोलेर पर्यटकहरूको साथलागी यात्रा थालेँ ।
नभन्दै रुकस्याकमा थोरै औषधी र कपडा बोकेर विदेशीसँग गफिँदै हिँड्दा मेरो पीडा भुल्न थालेँ । विदेशीको संसार, उनीहरूको जीवनको अनुभूति पनि गरेँ । अनि हरेक साँझ बास बसेको ठाउँमा जब भरियाले गाउँमा भोकमरी चलेको, महामारी फैलिएर आँखा अगाडि बालबच्चा मरेको कथा सुनाउँथे, म निकै भावुक हुन्थेँ । उनीहरूको पीडा मेरो पीडाभन्दा ठूलो थियो । आफूभन्दा अग्लो भारी बोकेर हिँडेका भरियाहरू बाटोमा लेक लागेर बिरामी पर्थे । दस-पन्ध्र दिनको ‘ट्रेक’मा बाटोभरि धेरै बिरामी भेटिन्थे । आफ्नो टोलीका लागि भनेर बोकेको औषधीले म उनीहरूको उपचार गर्थेँ । मलाई भरियाहरू भन्ने गर्थे, “हाम्रो गाउँमा त बिरामी कति छन् कति ? कुनै दिन हाम्रो सेरथुङ र टिपलिङमा पनि औषधी लिएर आउनुहोला ।”
स्वास्थ्यसेवारहित गाउँमा मेरो अधुरो डाक्टरी अनुभवको ठूलो महत्त्व छ भन्ने मलाई बोध भयो । यस सोचलाई मूर्तरूप दिन मेरा पर्यटक साथीहरूसँग कुराकानी गर्न थालेँ । विभिन्न ठाउँबाट सहयोग जुटाएर ०५० सालमा हिमालयन स्वास्थ्यसेवा संस्था खोलेँ । सुरुको यात्रामा भेटिएका भरिया सम्भिmँदै हामीले पहिलो काम धादिङ सदरमुकामबाट तीन दिनको उकालो काटेर पुगिने टिपलिङबाट थाल्यौं ।
टिपलिङ गाउँमा बच्चा नमरेको कुनै घर थिएन । कतिको त १२ जनामा ८ जनासम्म मरेको भेटिन्थ्यो । धामीझाँक्रीको मन्त्रमा भर पर्दै घरमै थलिएका बिरामीहरू भेट्थेँ । रोगले थलिएर हाडछालामात्र भएको १३ वर्षे बालकले एकदिन मेरो हात च्याप्प समाएर ‘मलाई बचाउनुस्’ भनेको अझै आँखा अगाडि आउँछ । तर उसको अवस्था एकदमै नाजुक भइसकेकाले हामीले बचाउन सकेनौं । त्यतिबेला गाउँको बाल मृत्युदर १००० मा २२५ भन्दा बढी थियो ।
हामीले गाउँको स्वास्थ्य, शिक्षा र आयआर्जनको अवस्थालाई सँगसँगै उकास्ने लक्ष्य बोक्यौं । सुरुमा महिलाहरूलाई प्रौढशिक्षा सञ्चालन गर्न थाल्यौं । गाउँलाई आत्मनिर्भर बनाउने तालिमहरू चलायौं । चारवटा गाविसमा स्वास्थ्यचौकी सञ्चालन गरेका छौं । अनुभवी चिकित्सकहरूको साथमा हरेक वर्ष घुम्ती उपचार सेवा दिने गरेका छौं । गाउँमा ९ वटा स्कुलको शैक्षिक स्तर वृद्धिमा पनि जुटेका छौं ।
आज धादिङ उत्तरी भेगका पाँच हजार महिला साक्षर भएका छन् । एक हजारभन्दा बढी महिलाहरूले फालिएको प्लाष्टिकको सामग्री बनाउने लगायतका घरेलु उद्योग सञ्चालन गरिरेहका छन् । शेरथुङ, टिपलिङ गाउँको बाल मृत्युदर ३० मा झरेको छ । गाउँमा स्वस्थ बालबालिका खेलिरहेकोे देख्दा एकदमै खुसी लाग्छ । हामीले इलाममा पनि एउटा आत्मनिर्भर सामुदायिक अस्पताल खोलेका छौं । तीन लाखभन्दा बढी इलामवासीलाई स्वास्थ्यसेवा दिने हाम्रो लक्ष्य छ । मलाई देशका सबै गाउँ घुम्ने इच्छा छ । ती सबै गाउँमा स्थानीय स्रोतसाधन जुटाई ग्रामीण देशवासीलाई सहयात्री बनाउने मेरो आकांक्षामै म रमाउँछु । म काठमाडौंमा हुर्के-बढेको मान्छे, १८ वर्ष अगाडि लाङटाङ घुम्न ननिस्केको भए गाउँको कष्टकर जीवन सायद त्यति नजिकबाट कहिल्यै देख्दिनथेँ । दिनको १०० रुपैयाँका लागि चालीस किलो भारी बोकेर हिँड्ने धादिङको शेरथुङ र टिपलिङका भरियाहरूको पीडा मैले कहिल्यै महसुस गर्नसक्ने थिइन । यात्राले मलाई नयाँ जिन्दगी दिएको छ । यही नै मेरो विश्वास हो ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।
Tags: Antenna Foundation, featured, This I believe