पुरानो काममा नयाँ प्रयोग
पुरानो काममा नयाँ प्रयोग
मैले त्यस्तो नयाँ केही गरेको छैन । सबैले गरेकै काम र चिज प्रयोग गरेको हुँ । अरूले भन्दा फरक तरिका अपनाएको मात्र हुँ । नेपालमा इन्टरनेटको प्रवेशसँगै च्याट गरेर रमाइलो गर्ने संस्कृति मौलाउँदै थियो । तर मैलेचाहिँ च्याटको सट्टा इन्टरनेटबाट व्यवसाय गर्ने सोच बनाएँ । आज पनि म नयाँ-नयाँ तरिकाको खोजीमा हुन्छु । हिजोको प्रविधि वा तरिका आज पुरानो भइसकेको हुन्छ ।
अमेरिकाबाट साढे चार वर्षको अध्ययन पूरा गरेर र्फकेपछि चौधरी ग्रुपमा सेल्समेनको रूपमा काम गरेँ । यहींका कति साथीभाइ भने नेपालमा केही हुँदैन भनेर निराशा पोख्थे । मलाई भने नयाँ तरिकाले काम गर्दा केही हुन्छ भन्ने लागिरहन्थ्यो । यही सोच साथीसँग मिलेर ‘साफ’ खेलको लागि रकम उठाउने ‘नेसनल लोट्टो डोनेसन प्रोग्राम’ नामक इन्टरनेटमा आधारित कार्यक्रम तयार पारेँ । यो काम चुनौतीपूर्ण थियो । कतिले यस्तो कुरा नेपालमा काम लाग्दैन भनेर सम्झाए पनि । तर आत्मविश्वासका साथ गरेको काम पहिलो वर्षमै सफल भयो । निश्चित कानुनी प्रावधान नहुँदा त्यसलाई निरन्तरता दिन भने सकिन । तैपनि त्यो काम गर्दा चिनेका राम्रा कम्प्युटर इञ्जिनियर र विज्ञ युवाहरूको सीप प्रयोग हुनेगरी इन्टरनेटको अर्को नयाँ उपयोगिता खोज्न थालेँ ।
त्यही नयाँ खोजको व्यावहारिक उपज थियो, ठमेल डट कम को सुरुवात । नेपाल आउन चाहने विदेशी पर्यटक र नेपालका ट्राभल एजेन्सीलाई आपसमा भेटाइदिने माध्यम बन्यो, ठमेल डट कम । यो काम केही समय राम्ररी नै चल्यो । तर विस्तारै ट्राभल एजेन्सीहरूले आफैं वेबसाइट खोल्न थालेपछि मेरो व्यवसाय ओझेलमा पर्दै गयो । आज काठमाडौं र अन्य सहरहरूमा उपलब्ध इन्टरनेटको सुविधालाई अधिकांश मानिसहरूले रमाइलो र सामान्य खबर आदान-प्रदान गर्नमै सीमित गरेका छन् । तर यही इन्टरनेटलाई विदेशिएका नेपालीहरूले नेपालका आफन्तलाई उपहार पठाउने माध्यम बनाएका छन् । ठमेल डट कम मा राखिएका उपहारका आइटम हेरेर विदेशबाट नेपालमा खरिद गर्छन् र हामी त्यसलाई घर-घरमा पुर्याइदिन्छौं । यो सफल पनि भएको छ । आमाको मुख हेर्ने दिनमा होटल र्याडिसनको आधाभन्दा बढी केक ठमेल डट कम ले खरिद गरेर विदेशिएका नेपालीका नाममा धेरैका घर-घरमा पुर्यायो । विदेशमा बस्ने नेपालीले आमाको लागि यति धेरै कोशेली ठमेल डट कम मार्फत खरिद गर्छन् भन्ने मैले कल्पना पनि गरेको थिइन । तर नयाँ तरिकाले कहिलेकाहीं नसोचेको सफलता ल्याउँदो रहेछ ।
नयाँ काम सधैं सफल हुन्छ नै भन्ने छैन । मैले पनि धेरै असफलताहरू सामना गरेको छु । तर निरन्तर प्रयास र आशावादी सोचले यसमा व्यावसायिक सफलता त हासिल भएको छ नै, सँगै व्यक्तिका भावना र समवेदनाको बाहक पनि हुनपुगेको छ । अमेरिकामा रहेका एक व्यक्तिले ठमेल डट कम मार्फत ओम अस्पतालमा रहेकी बिरामी आमालाई खेलाउने भालु पठाए । त्यो खेलौना भालु पाउँदा ती बूढीआमा अति खुसी भइन् । सायद उनलाई त्यो खेलौना सुमसुम्याउँदा आफ्नै छोरो सुमसुम्याएको आनन्द प्राप्त भयो । खेलौना सुमसुम्याएको पाँच मिनेटमै उनले सदाका लागि आँखा चिम्लिन् ।
काम गर्दा कहिलेकाहीं समस्या आउँछन् । नयाँ तरिकाले सुरु गरिएका काममा त झन् उत्तिकै चुनौती । तर गरिबी हटाउन सहयोग गरेको भनी विश्व बैंकबाट ‘टोनी जेइटन’ पुरस्कार पाएपछि म अझ नयाँ-नयाँ तरिका प्रयोग गर्न उत्साहित भएको छु । गाउँ-गाउँमा इन्टरनेट पुर्याएर विदेशी पर्यटकका लागि आपत पर्दा आर्थिक सहयोग गर्ने तरिका अपनाउँदैछु । यो कुनै नयाँ प्रविधि र नयाँ काम होइन । मात्र मैले प्रयोग गर्ने तरिका नयाँ हो । धेरैले यहाँ धेरै काम फस्टाउँदैन भन्छन् । तर म सधैं नफस्टाइरहेको काममा फस्टाउने तरिका खोजिरहेको हुन्छु । नयाँ तरिकाले गरे पुरानो काम र चिजलाई पनि नयाँ उचाइमा पुर्याउन सकिन्छ । यो मेरो अनुभव हो र विश्वास पनि ।
Tags: Antenna Foundation, featured, This I believe