म आश्वस्त छु, समावेशी हुने दिन अवश्य आउनेछ

मसँग जीवन संघर्षको ठूलो वृत्तान्त छैन । नेपालका औसत युवा र महिलाहरूले जस्तो संघर्ष मैले गर्नुपरेन । द्वन्द्वले पनि मलाई खासै असर पारेन । मैले सँगालेका थोरै उपलब्धिहरू पनि मेरो कुलिन पारिवारिक पृष्ठभूमिका देन हुन् । म काठमाडौंको उच्चवर्गीय परिवारमा जन्मिएँ । म यहाका राम्रा स्कूलमा गएँ, उच्च शिक्षाको लागि भारत गएँ, दिल्लीमा केही समय पत्रकारिता गरेँ र तीन वर्ष पहिले घर अर्थात् काठमाडौं फर्कें ।

तर मेरो जीवन ज्यादै सरल पनि छैन । मेरा पुर्खा र आफन्तजनहरू नेपाल-भारत सीमाको वारिपारि छन् । अझै पनि उनीहरूसँग हाम्रो गहिरो पारिवारिक सम्बन्ध छ । ठूलो फड्को मारेर मेरो हजुरबुबा सप्तरीको राजविराजबाट काठमाडौ आउनुभयो, जतिबेला देश राणा शासनबाट मुक्त हुन खोज्दै थियो ।

भाषा, हामीले प्रायः ख्याल गर्नेभन्दा पनि सूक्ष्म परिचयको मापक हो । स्कुलमा मैले नेपाली नलिएर हिन्दी रोजेँ । कक्षा ६ मा पढ्दा त्यसको असर मैले पहिलोपटक महसुस गरेँ । खाना खाने बेलामा एउटा साथीले भन्यो, “ए धोती, तँ किन इन्डिया जाँदैनस् ?” जब मैले ‘धोती’ शब्दले पहाडी इलाकामा मधेसीलाई जनाउँछ र उसलाई भारतीयसरह हेपिन्छ भन्ने थाहा पाएँ, त्यसपछि म त्यो परिचयबाट भाग्न थालेँ । म काठमाडौंका रैथाने साथीहरूसँग हेलमेल बढाउन थालेँ । ती साथीहरूसँगै म पनि अन्य मधेसी र भारतीयहरूलाई ‘धोती’ भनेर गिज्याउन थालेँ । हिन्दी पढ्नु आफ्नो रहर नभई बुबाआमाको कर हो भनी साथीहरूबीच साखुल्ले हुनथालेँ ।

तर आफ्नो परिचयबाट धेरै टाढा भाग्न सम्भव हुँदोरहेनछ । दशैंमा हाम्रो परिवार सदाझैं शाकाहारी रहन्थ्यो, जबकि काठमाडौं मासुमा रमाउँथ्यो । हामी टीका लगाउँदैनथ्यौं । तिहार मेरालागि द्यौसी-भैलो विनाको एकदिनको दीपावलीमात्र थियो । मेरो नेपाली लवज र थरले गर्दा मलाई धेरैले ‘यो नेपाली हैन’ भन्थे । ‘म नेपाली नागरिक नै हुँ’ भनेर पटक-पटक जनाइराख्नुपर्ने बाध्यता झन्-भन् अप्रिय लाग्दै गयो ।

आफ्नो निजी पहिचान अनुभव गर्न मलाई लामो समय लाग्यो । खासगरी मैले प्राप्त गरेको उदार प्रकृतिको शिक्षाले मलाई समाज कसरी काम गर्छ भन्ने बुझ्न सघायो । यता आएर देशमा सुरु भएको समावेशी प्रकृतिको राजनीतिले आफ्नो सामाजिक-सांस्कृतिक पृष्ठभूमिबारे बहस गर्न थप सजिलो पारेको छ । त्यतिमात्रै नभई, मेरो ‘नेपालीत्व’बारे प्रश्न गर्नेहरूलाई जमेर जवाफ दिन सक्नेगरी मेरो आत्मविश्वास बढेको छ । नेपाली नागरिकताको अनुभूति र अपनत्व दुवै बढ्ने क्रममा छ ।

यति हुँदाहुँदै पनि मेरो कथाले सिंगो मधेसको प्रतिनिधित्व गर्न भने सक्दैन । मेरा पूर्वज अवश्य दक्षिणबाट बसाइँ-सराइ गरेर आएका हुन्, तर अरू मधेसीका पुर्खाहरू त शदीयौंदेखि यहीं तराईमै बसिरहेका छन् । म अध्ययनका लागि देश बाहिर गएँ, जसले गर्दा नामधारी राष्ट्रियताका ठेकेदारहरूले तोकेको मापदण्डको कथित परीक्षा पास गर्नुपर्ने अपमानजनक स्थितिबाट केही वर्ष मुक्त रहन सकेँ । तथापि अन्य आम मधेसीको तुलनामा मैले केही घोचपेच र सूक्ष्म टिप्पणी बाहेक कहिल्यै पनि अवसरबाट वञ्चित हुनु परेन । यसर्थ आज सबैको ध्यान त्यो वर्गप्रति केन्द्रित हुन जरुरी छ, जो मैथिली, अवधी, भोजपुरी वा बढीमा हिन्दीमात्र बोल्छन् र जो तराईमा बस्छन्, “गैरनेपाली”को कलंक बोकेर ।

परिवर्तनको प्रारम्भ भई पनि सकेको छ । संविधानसभामार्फत मधेसीहरूको बलियो परिचय केही हदसम्म स्थापित भएको छ । यद्यपि मधेसीहरूको मनमा इतिहासदेखि नै निर्मम तरिकाले शोषण गरिएका कैयौं सम्झनाहरू अझै ज्युँदै छन् । उनीहरू रिसाएका छन्, राज्यप्रणालीबाट पृथक भएकोमा । म आज उनीहरूको आक्रोशभित्र लुकेको त्यही पीडा बुझ्ने प्रयास गर्दैछु । ‘उनीहरू’ सबै मजस्तै अशुद्ध नेपाली बोल्ने, अनुहार कालो भएका, तराईमा बस्ने नेपालीहरू हुन्, जो नेपाली राष्ट्रियताको अर्थ अझै फराकिलो र समावेशी हुने दिन पर्खेर बसेका छन् । र म आश्वस्त छु, त्यो दिन अवश्य आउनेछ । यो नै मेरो विश्वास हो ।

यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।

Tags: , ,

Leave a Reply


© Meronepalma.com