जुटे सम्भव छ

सानैदेखि लाहुरेसँग विवाह गरेर घाँसदाउरा गर्ने सास्तीबाट मुक्ति हुन चाहन्थे । उमेर बढ्दै जाँदा त्यो इच्छा पूरा नभएकोमा दुःखी हुन्थे । जब वीरबहादुर घलेले बिजुली ल्याएर गाउँलेको स्यावासी पाए, तब मेरो मनमा पनि त्यस्तै केही गर्ने उत्साह पैदा भयो । तर मसँग उसको जस्तो शिक्षा र देश-विदेश घुमेको अनुभव केही पनि थिएन ।

केही गरेजस्तो गर्न म आमा समूहमा संलग्न भएँ । त्यतिबेला देशमा माओवादीको युद्ध चलिरहेको थियो । हाम्रो गाउँ वारपार्क पनि यसबाट अछुतो रहेन । असुरक्षा बढ्दै गएपछि हाम्रो आमा समूहकी अध्यक्ष सदरमुकाम बस्न थालिन् । साथीहरूले मलाई समूहको अध्यक्ष बन्न अनुरोध गरे । म नपढेको मान्छेले कसरी समूह चलाउनु भनेर डराएँ । साथीहरूले साथ दिने बाचा गरेपछि म अध्यक्ष भएँ । समूहलाई मिलाएर काम गर्दै अघि बढ्दा मेरो विश्वास पनि बढ्दै गयो । जुटे सम्भव छ भन्ने लाग्न थाल्यो ।

पहिला म आफू काममा जुट्थेँ, अनि अरूलाई जुटाउँथेँ । यही जुटाइबाट म रोशनी घलेबाट सबैको प्यारी रसाइनी आमा हुनपुगेँ । पहिले मेरो कुरामा मेरै श्रीमानले पनि ध्यान दिँदैन थिए । तर आज गाउँकाले पनि ध्यानपूर्वक सुन्छन् । बाहिरबाट कार्यक्रम गर्न आएका संघ-संस्थाले पनि पहिले मलाई नै खोज्छन् । मलाई यो सम्मान गाउँको लागि केही गर्न जुटेको प्रयासले दिएको हो । त्यसैले आफ्नो जीवनको महत्त्व बढाउन आफैंले केही गनर्ुपर्छ भन्ने मेरो विश्वास बनेको छ ।

मेरो यस्तो विश्वास कामले गर्दा बनेको हो । पढाइले होइन । सानो छँदा ममा पनि पढ्ने इच्छा हुँदै नभएको होइन होला, तर आमाबुबाले पढाएनन् । त्यो बेला छोराछोरी पढाउनुपर्छ भन्ने सायद सोच पनि थिएन । उनीहरू हामीले धेरै घाँसदाउरा खोजे खुसी हुन्थे । जंगलबाट धेरै सिस्नु टिपेर ल्याए झन् खुसी हुन्थे । यो बेलाको समय नै त्यस्तै । मैले पनि बुबाआमालाई खुसी पार्न साथीसंंगीजस्तै घाँसदाउरा गरेर बैंस फालेँ । लाहुरेसँग बिहा गरेर सुखी जीवन बिताउने आँखै सामुन्नेको बुद्ध हिमालको हिउँझै चिसियो ।

तर केही गर्ने सोचमा जुटेपछि जीवनप्रति कुनै तीतो बाँकी रहेन । मेरो अगुवाइमा आमा समूह जाँड-रक्सी नियन्त्रणमा जुटयो । गाउँका धेरै पुरुष रक्सी पिउँथे । माने डाँडामा गफिँदै दिन कटाउँथे । महिलाहरूले भने भ्याई-नभ्याई घरधन्दा र घाँसदाउरा गर्नुपर्थ्यो । यस्ता कुरा मैले घरपरिवारमै पनि नउठाएको होइन । तर आफू सशक्त ढंगबाट नजुटी परिवर्तन कहाँ हुँदोरहेछ र ? मेरो अगुवाइमा थालिएको आमा समूहको जताततै जाँड-रक्सी खान नदिने हाम्रो अभियान सफल भयो । यहाँ आज पुरुषहरू पनि काम गर्छन् । तास-जूवा खेलेर समय कटाउँदैनन् । यो असल लक्ष्यका निम्ति जुटेपछिको सही परिणाम हो ।

एउटा काम सफल भएपछि अर्को काममा जुट्न मन लाग्दोरहेछ । जाँड-रक्सी र तास-जूवा नियन्त्रणपछि बाटो, पुलपुलेसा, पानीधारा बनाउने सोच आयो । तर यस्ता काममा जुट्नलाई पैसा पनि चाहिँदोरहेछ । पैसाका निम्ति समूहको कोष बनायौं । चन्दा र सहयोग माग्यौं । थोरै-थोरै किन नहोस्, दिनमा धेरै हात जुटेपछि त्यो धेरै नै हुँदोरहेछ । यही प्रयासको सफल परिणाम थियो, चिङग्रा चौतारामाथि पुल थाप्ने काम । रु ५० हजार खर्चेर बनाएको त्यो पुलले गर्दा भेल चल्दा पनि सबैलाई हिँड्न सजिलो भयो ।

यही जुटाइ हो, जसले दिन-प्रतिदिन बारपार्कसँगको माया बढ्दो र बढाउँदो छ । काम गर्न सजिलो होस् भनेर आमा समूहको आफ्नै भवन बनाउन खोजिरहेका छौं । त्यही भवनमा टुरिष्टका लागि होटल खोल्ने सपना पनि छ । सँगसँगै वन संरक्षण गरेर बारपार्कलाई हराभरा बनाउने योजना पनि । यसका लागि छुट्टै वन उपभोक्ता समिति स्वीकृत गराउन जुटिरहेका छौं ।

म सबैलाई जति क्षमता छ, त्यहीअनुसार जुट्नमा प्रोत्साहन गर्छु । आज मसँग क्षमता छैन भनी नजुटेको भए, मसँग गाउँलेको सम्मान होइन, बैंसमा पूरा नभएका सपनाका तिक्ततामात्र हुन्थे । तर म जुटेँ र समाजलाई समृद्धि दिएँ, अनि समाजबाट सम्मान प्राप्त गरेँ । म आत्मसम्मानको लागि पनि केही गर्न जुटिरहनुपर्छ भन्छु । यो मेरो जिन्दगीको प्रयास हो । विश्वास हो ।

यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।

Tags: , ,

Leave a Reply


© Meronepalma.com